विष्णुप्रसाद देवकोटा
डोल्पा ।१०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजना निर्माणको ठेक्का लामो रस्साकस्सीपछि जेसीई/एएनके जेभीले पाएको छ।
जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले निकालेको ठेक्कामा प्राविधिक मूल्यांकनपछि सिनो हाइड्रो र जेसीई/एएनके जेभी पास भएका थिए। आर्थिक प्रस्ताव खोल्दा जेसीई/एएनके जेभीले १२ अर्ब १५ करोड रुपैयाँमा र सिनो हाइड्रोले १३ अर्ब ३३ करोड रुपैयाँमा कबोल गरेका थिए। नियमानुसार न्यूनतम रकम कबोल गर्ने कम्पनीलाई सोमबार सम्झौता गर्दै ठेक्का दिइएको हो।
यो आयोजनाको पहिलो ठेक्का आह्वान २०८१ जेठ २० गते भएको थियो। प्रारम्भिक चरणमा ७ कम्पनीले आवेदन दिए पनि प्राविधिक मूल्यांकनमा कुनै पनि छनोट नभएपछि ठेक्का रद्द गरिएको थियो। दोहोर्याएर आह्वान गर्दा ४ कम्पनीले आवेदन दिए, जसमा २ मात्र प्राविधिक रुपमा पास भए।
ठेक्का प्रक्रियामा सिनो हाइड्रोले विभिन्न निकाय—अख्तियार, सीआईबी, अदालत र लेखा समितिमा उजुरी दिएको थियो। लेखा समितिले झण्डै २ महिना प्रक्रिया रोके पनि अदालतले कानुन अनुसार अघि बढाउन आदेश दिएपछि सम्झौता सम्भव भएको हो।
यो आयोजना निर्माणका लागि कुल लागत २३ अर्ब रुपैयाँ अनुमान गरिएको छ। जसमध्ये १६ अर्ब रुपैयाँ ऋण र ७ अर्ब रुपैयाँ इक्विटीबाट जुटाइनेछ। गत वर्ष जेठ पहिलो साता नविल बैंकको नेतृत्वमा फाइनान्सियल क्लोजर भएको थियो। नविल बैंकले ४ अर्ब ४० करोड, एचआईडीसीएलले ४ अर्ब, कर्मचारी सञ्चयकोषले ४ अर्ब, लक्ष्मी सनराइज बैंकले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्नेछन्।
निर्माण सुरु भएको मितिबाट ५ वर्षभित्र आयोजना सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य छ। कम्पनीले १२० मेगावाट क्षमताको ‘जगदुल्ला ए’ जलविद्युत आयोजना पनि अध्ययन गरिरहेको छ, जुन हालको आयोजनाको क्यासकेड हुनेछ। यी दुबै आयोजना कर्णाली प्रदेशको ऊर्जा र पूर्वाधार विकासमा महत्वपूर्ण मानिन्छन्।

डोल्पा न्यूज । २७ श्रावण २०८२, मंगलवार १०:५६