विष्णुप्रसाद देवकोटा
डोल्पा, ठुलीभेरी–११ डोल्पा जिल्लाको ठुलीभेरी नगरपालिका वडा नं. ११ अन्तर्गत पर्ने रह गाउँमा भाइरल रुघाखोकी तीव्र रुपमा फैलिएको छ। केही दिनयता गाउँका प्रायः सबै घरमा बालबालिका, युवा तथा वृद्धवृद्धामा ज्वरो, खोक्सी, टाउको तथा हातगोडा दुख्ने लक्षण देखिएको स्थानीय बासिन्दाहरूले बताएका छन्।
रोगको संक्रमण व्यापक भएपछि गाउँस्थित स्वास्थ्य चौकीमा बिरामीको चाप उच्च रहेको छ। तर, पर्याप्त औषधीको अभावका कारण उपचारमा समस्या देखिएको स्वास्थ्य चौकीका अहेब बुद्धिप्रसाद आचार्यले जानकारी दिए। उनका अनुसार माग फाराम पठाएर पनि आवश्यकता अनुसार औषधी नपठाइने तथा प्राप्त औषधी सीमित भएकाले चाँडै सकिने अवस्था रहेको छ।
स्वास्थ्य सेवा कार्यालयले तोकेको ९८ प्रकारका औषधीमध्ये केही मात्र औषधी उपलब्ध हुने गरेको र सामान्य सिटामोल समेत अभावमा परेको अवस्था रहेको अहेब आचार्यले बताए। संघीयताको कार्यान्वयनसँगै औषधी खरिदको अधिकार स्थानीय सरकारलाई दिइएको भए पनि डोल्पा जिल्लाका अधिकांश स्वास्थ्य संस्थाहरूमा औषधीको चरम अभाव देखिएको छ।
गाउँमा भाइरलको महामारी फैलिएको बेला औषधी नहुनु थप गम्भीर समस्या बन्न पुगेको छ। राति–बिहान बिरामी हेर्नु पर्ने अवस्था हुँदा पनि औषधी नहुँदा स्वास्थ्यकर्मीहरू दबाबमा परेका छन्।
यता, सन् २०७८ मा निर्माण सम्पन्न भएको बर्थिङ सेन्टर अझैसम्म सञ्चालनमा आउन सकेको छैन। आवश्यक उपकरण, सामग्री तथा जनशक्ति भए पनि सम्बन्धित स्वास्थ्यकर्मीलाई तालिम नपुगेको र उपकरण जडानमा सहजीकरण नहुँदा सेवा सुरु गर्न नसकेको अहेब आचार्यले बताए।
गाउँमा हाल तीन जना कार्यालय सहयोगी र चार जना स्वास्थ्यकर्मी कार्यरत छन्। १७० भन्दा बढी घरधुरी रहेको रह गाउँका महिलाहरू सामान्य गर्भ जाँच तथा सुत्केरी सेवाका लागि ४ देखि ५ घण्टासम्मको भिरालो बाटो हिँडेर जिल्ला अस्पताल दुनै जानुपर्ने बाध्यता रहेको छ। केही महिला अझै पनि घरमै सुत्केरी हुने गरेका छन्, जसले मातृ तथा नवजात शिशु मृत्युदर बढाउने जोखिम बोकेको छ।
स्वास्थ्य सेवा अभावको अवस्थाबारे जानकारी लिन जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकायाले हालै रह स्वास्थ्य चौकी, बर्थिङ सेन्टर तथा वडा कार्यालयको अनुगमन गरेका छन्। अनुगमनपछि उनले बर्थिङ सेन्टर तत्काल सञ्चालन गर्न, स्वास्थ्य चौकीमा औषधी अभाव समाधान गर्न र वडा कार्यालयलाई आफ्नै भवनबाट सञ्चालन गर्न आवश्यक समन्वय मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
वडा नं. ११ का कावावडा अध्यक्ष कर्णप्रसाद कार्कीले भने, “स्वास्थ्य चौकीमा औषधी छैन, बर्थिङ सेन्टर प्रयोगविहीन छ। हामी नगरपालिकासँग समन्वय गरी दुवै सेवा सञ्चालनको प्रयास गरिरहेका छौं।”
विकट गाउँमा स्वास्थ्य सेवाको यस्तो संकटपूर्ण अवस्था समाधानका लागि स्थानीय सरकार, जिल्ला स्वास्थ्य कार्यालय तथा संघीय तहबीच प्रभावकारी समन्वय आवश्यक देखिएको छ।