ताजा समाचार

कर्णाली जलस्रोत तथा ऊर्जा मन्त्रालयबाट कालिकोट, डोल्पा र सल्यान सम्मानित

विष्णुप्रसाद देवकोटा 

सुर्खेत । कर्णाली प्रदेश सरकारअन्तर्गत जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट कार्यसम्पादन गर्ने तीन जिल्ला कार्यालयलाई सम्मान गरेको छ। मन्त्रालयको वार्षिक समीक्षा गोष्ठीको समापन समारोहमा कालिकोट, डोल्पा र सल्यान जिल्लाका कार्यालयहरू क्रमशः प्रथम, दोस्रो र तेस्रो हुँदै सम्मानित भएका हुन्।

विनियोजित बजेटको उच्चतम कार्यान्वयन गरेको आधारमा कालिकोटले ९१.८५ प्रतिशत, डोल्पाले ९०.२९ प्रतिशत र सल्यानले ९०.२३ प्रतिशत खर्च गर्दै उत्कृष्टता हासिल गरेका थिए।

गोष्ठीको समापन सत्रमा मन्त्रालयका मन्त्री विजया बुढा र सचिव इन्द्र देव भट्टले कालिकोटका कार्यालय प्रमुख प्रविण महत, डोल्पाका प्रमुख प्रकाश गिरी र सल्यानका अनुप श्रेष्ठलाई प्रशंसापत्रसहित सम्मान गरेका हुन्।

त्यसैगरी, अन्य जिल्लाहरूको बजेट कार्यान्वयन विवरण अनुसार मुगुले ८७.३८ प्रतिशत, हुम्लाले ८६.०४ प्रतिशत, जुम्लाले ८४.२३ प्रतिशत, जाजरकोट र रुकुम पश्चिमले ८३.९६ प्रतिशत, दैलेखले ८१.०१ प्रतिशत र निर्देशनालय सुर्खेतले ५९.११ प्रतिशत खर्च गरेका थिए।

वार्षिक समीक्षा गोष्ठीमार्फत मन्त्रालयले आगामी कार्ययोजना निर्माण, बजेट कार्यान्वयनको पारदर्शिता र सेवा प्रवाहमा सुधारको प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया