ताजा समाचार

भारतीय राजदूत र डोल्पा ठूलिभेरी नगरप्रमुखकाे शिष्टाचार भेट

विष्णुप्रसाद देवकोटा

डाेल्पा, जेठ ८ गते— नेपालको प्रमुख पर्यटकीय गन्तव्यस्थल मध्येकाे एक, डोल्पाको फोक्सुण्डो तालको प्राकृतिक सौन्दर्य अवलोकन गर्न आएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिकाका नगरप्रमुख सुवर्ण कुमार बुढाबीच जुफाल विमानस्थलमा शिष्टाचार भेटघाट सम्पन्न भएको छ।

राजदूत श्रीवास्तव समिट एयरको नियमित उडानमार्फत बिहीबार बिहान जुफाल विमानस्थलमा अवतरण गरेका थिए। विमानस्थलमा नगरप्रमुख बुढासहितका स्थानीय अधिकारी तथा जनप्रतिनिधिहरूद्वारा उनलाई स्वागत गरिएको थियो। स्वागत कार्यक्रममा प्रमुख अतिथि रहेका श्रीवास्तव र नगरप्रमुख बुढाबीच डोल्पाको समग्र विकास, विशेषगरी पर्यटकीय पूर्वाधार, धार्मिक सम्पदा संरक्षण तथा शिक्षा क्षेत्रमा भारतीय सहकार्यका सम्भावनाहरूका विषयमा छलफल भएको थियो।

भेटपछि राजदूत श्रीवास्तव  आजै फोक्सुण्डो तालतर्फ प्रस्थान गरेका छन्। उनलाई साथ दिएका नेपाली कांग्रेस डोल्पाका उपसभापति पूर्णबहादुर शाहीले राजदूतको भ्रमणले डोल्पाको प्राकृतिक सम्पदा, पर्यटकीय सम्भावना र पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय ध्यान आकृष्ट हुने विश्वास व्यक्त गरे।

शाहीका अनुसार, “राजदूतज्यूले फोक्सुण्डो तालको प्राकृतिक छटासँगै डोल्पामा रहेका धार्मिक, सांस्कृतिक र शैक्षिक संरचनाहरूको अवलोकन गरी आगामी दिनमा भारतीय सरकारद्वारा गरिन सक्ने सहयोगका सम्भावनाबारे चासो व्यक्त गर्नुभएको छ।”

डोल्पाको प्रसिद्ध धार्मिक स्थल श्रीबालात्रिपुरासुन्दरी योगमाया भगवती मन्दिरको पुनर्निर्माणमा समेत विगतमा भारतीय सहयोग रहेको स्मरण गर्दै उपसभापति शाहीले राजदूतलाई उक्त मन्दिरसम्म पुग्ने प्रस्तावसमेत अघि सारेका छन्। साथै, उनले डोल्पाका दुर्गम बस्तीहरूमा शिक्षाको पहुँच विस्तार तथा स्वास्थ्य सेवा प्रवाहमा भारत सरकारको सहकार्यको अपेक्षा रहेको बताएका छन्।

राजदूत श्रीवास्तवको यो भ्रमण डोल्पाको पर्यटन प्रवर्द्धनमा मात्र नभई, भारत-नेपाल मित्रताको सुदृढीकरणमा एक सकारात्मक पाटोका रूपमा लिन सकिन्छ।

तपाईको प्रतिक्रिया