काठमाडौँ । धौलागिरि हिमालमा पाँच जना आरोहीको मृत्यु भएको मंगलबार पुष्टि भयो । आइतबार राती ११ बजे धौलागिरिको क्याम्प–१ क्षेत्रबाट सम्पर्कविहीन रहेका उनीहरूको शव मंगलबार ७६०० मिटर उचाइमा भेटिएको पर्यटन विभागले जनाएको छ ।त्यसरी मृत्यु हुनेहरूमा अलेक्जेन्डर दुशेयेको, ओलेग क्रुग्लोभ, भ्लादमिर चिस्टिकोभ, मिखाइल नोसेन्को, दिमित्री श्पिलेभोइ रहेका छन् ।
त्यसमध्ये अलेक्जेन्डर टोलीका नेता थिए । उनकै नेतृत्वमा १४ जनाको आरोहण टोली नेपाल आएर धौलागिरि आरोहण गर्न लागेको थियो । उनीहरूलाई विभागले आइतबार नै आरोहणको अनुमति दिएको थियो ।
आईएएम ट्रेकिङ कम्पनीको व्यवस्थापनमा गएका ती आरोही सुरुमा दुई समूह बनाएर आरोहण गर्न चाहन्थे । तर, १४ मध्ये ६ जनाको स्वास्थ्य बिग्रिएपछि उनीहरुले आरोहणको योजना रद्द गरेर आधार शिविरमै बसे । शपिलेवो नामका व्यक्ति पनि क्याम्प १ बाटै आरोहण योजना रद्द गरेर फर्किएको विभागले जनाएको छ ।