विष्णुप्रसाद देवकोटा 
डोल्पा, असार ७ गते।नेपालको सबैभन्दा गहिरो तथा सुन्दर तालमध्ये एक फोक्सुण्डो ताल अब पदमार्ग सुविधाले झन् नजिकिने भएको छ। समुद्री सतहबाट ३ हजार ६३५ मिटरको उचाइमा अवस्थित डोल्पाको फोक्सुण्डो ताल वर्षेनि हजारौं आन्तरिक तथा सयौं बाह्य पर्यटकको प्रमुख गन्तव्य बन्दै आएको छ। तर, उक्त तालसम्म पुग्ने पदमार्गको कठिनाईले पर्यटकलाई सास्ती दिँदै आएको गुनासोपछि कर्णाली प्रदेश सरकार सक्रिय बनेको हो।
प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत साङ्ग्टा देखि फोक्सुण्डो तालसम्मको पर्यटकीय पदमार्ग निर्माणका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ। भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढाको विशेष पहलमा मुख्यमन्त्री यामलाल कंडेलको प्रमुख प्राथमिकतामा परेको यो आयोजना उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको समन्वयमा डिभिजन वन कार्यालयमार्फत कार्यान्वयन हुने भएको छ।
मन्त्री बुढाका प्रमुख स्वकीय सचिव पदम बुढाका अनुसार पदमार्ग निर्माण दीर्घकालीन र पर्यटकमैत्री बनाइनेछ। “सधैंजसो राज्यबाट उपेक्षित हुँदै आएको फोक्सुण्डो ताल र त्यसको पदमार्गप्रति यसपटक प्रदेश सरकारले गम्भीर चासो दिएको छ,” बुढाले जानकारी दिए।
स्थानीय बासिन्दा र शे–फोक्सुण्डो गाउँपालिका–८ का वडाध्यक्ष निमा लामाले प्रदेश सरकारको यस पहलप्रति आभार प्रकट गरेका छन्। “हामीलाई हेर्ने नजरमा फरकपन आएको छ, अब पर्यटक आउन सजिलो हुनेछ,” लामाले खुसि व्यक्त गर्दै भने।
यसैबीच, सुलिगाडदेखि आँखे खोला खण्डसम्मको सडक निर्माणका लागि थप १ करोड रुपैयाँ विनियोजन गरिएको छ। उक्त सडक भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमार्फत निर्माण हुने बताइएको छ।
बरसात र हिउँदको समयमा बाटो अवरुद्ध हुने समस्याले वर्षौंदेखि पर्यटक र स्थानीयवासीले सास्ती खेप्दै आएका थिए। अब भने उक्त कठिनाई समाधान गर्दै पदमार्गलाई दिगो र सुरक्षित बनाउन सरकारले उच्च प्राथमिकतामा राखेर योजना अघि बढाएको छ।
प्रमुख स्वकीय बुढाका अनुसार, “बजेटको व्यवस्था सरकारले गरिसकेको छ, अब यसको प्रभावकारी कार्यान्वयनमा स्थानीय सरकार र समुदायको सक्रिय भूमिका आवश्यक छ।” साथै, प्रदेश सरकारले रिग्मो बस्ती लगायत अन्य सडक तथा पर्यटन संरचनामा समेत काम अगाडि बढाएको जानकारी दिए।प्रदेश सरकारले सार्वजनिक गरेकाे नीति तथा कार्यक्रममा फाेक्सुण्डाे ताललाई पहिचान हुने गरि उल्लेख नगरिएपनि शे फाेक्सुण्डाे गाउँपालिका अन्तर्गतका याेजना निर्माणका लागि ब्यक्ति राेजाईमा बजेट विनियोजन गरिएकाे हाे ।फाेक्सुण्डाे तालकाे प्रचारप्रसार र पर्यटन प्रर्बद्दनका लागि कर्णाली प्रदेश सभामा प्रस्तुत बजेट तथा नीति कार्यक्रममा नामै उल्लेख सम्म गरेकाे नपाइएपछि नागरिक समाजदेखि ग्रामिण समुदायका नागरिकबाट चर्काे आलोचना भएकाे थियाे ।

डोल्पा न्यूज । ७ असार २०८२, शनिबार २१:५६