✍️ विष्णुप्रसाद देवकोटा
डोल्पा । डोल्पामा ‘झोले विद्यालय’को नाममा नक्कली योजना खडा गरी राज्यकोषबाट रकम हिनामिना गरिएको खुलासा भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस घोटालामा संलग्न भन्दै जिल्ला प्राविधिक कार्यालय डोल्पाका तत्कालीन प्रमुख र लेखापालसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
विशेष अदालतमा बिहीबार दायर मुद्दाअनुसार तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, फर्जी निर्माण उपभोक्ता समिति अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढा घोटालामा संलग्न छन्।
आरोपअनुसार आ.व. २०६७/०६८ मा तत्कालीन दुनै गाविस वडा नं. २ र ३ (हाल ठूलीभेरी नगरपालिका–४, तिप्ला) मा अस्तित्वमै नरहेको दुर्गा प्राथमिक विद्यालय स्थापना गरिएको देखाएर दुई कोठे भवन निर्माणको नाममा ७ लाख ६० हजार रुपैयाँको बजेट विनियोजन गराइएको थियो।
फर्जी उपभोक्ता समिति गठन गरेर निर्माणसम्बन्धी नक्कली कागजात तयार पारिएको र जिल्ला प्राविधिक कार्यालयकै प्रमुखको सिफारिसमा सो बजेट खर्च गरिएको अख्तियारले जनाएको छ। आयोगका अनुसार चारै जनाको मिलेमतोमा सम्पूर्ण रकम भ्रष्टाचार गरिएको पुष्टि भएको छ।
अख्तियारले उनीहरूविरुद्ध जनही ७ लाख ६० हजार रुपैयाँको बिगो मागदाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
यो घटनाले दुर्गम जिल्लामा अनुगमन अभावकै कारण योजनामै ‘विद्यालय खडा’ गरेर समेत बजेट लुट्ने प्रवृत्तिको गम्भीर रूप उजागर गरेको छ।

डोल्पा न्यूज । १९ असार २०८२, बिहीबार १६:१७