विष्णुप्रसाद देवकोटा
डाेल्पा,काइके गाउँपालिकाकाे १५औँ गाउँसभाले आफ्ना कर्मठ, इमानदार र प्रेरणादायी पात्रहरूलाई सम्मान गर्दै संस्थागत अनुशासन र सेवाप्रतिको निष्ठामा नयाँ ऊर्जा थपेको छ।
सभामा उत्कृष्ट कार्यसम्पादन प्रस्तुत गर्ने योजना शाखाका बिक्रम कठायत, वडा नं. ६ का सचिव बसन्त केसी, रोजगार शाखाका अरुण शाह र स्वयमसेविका शान्ती बिष्टलाई नगद २०/२० हजारसहित सम्मान गरिएको गाउँपालिका अध्यक्ष अंगद कुमार रानाले जानकारी दिए।
शिक्षाको क्षेत्रमा पनि उत्कृष्ट योगदान गर्ने संस्थालाई गाउँसभाले सम्मानित गरेको छ। काईके गाउँपालिका–४ मा अवस्थित श्री सुन्दरेशेर्पा आधारभूत विद्यालयलाई ‘उत्कृष्ट विद्यालय’ घोषित गर्दै नगद ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको हो।
त्यसैगरी विद्यालय व्यवस्थापन समितिमा अब्बल ठहरिएका अध्यक्ष प्रकाश बोहोरालाई नगद २० हजार रुपैयाँसहित प्रमाणपत्र दिइएको छ।
साँस्कृतिक चेतना र सृजनात्मक योगदानको कदर गर्दै वडा नं. ७ का वडा अध्यक्ष एवं गीतकार–गायक रामचन्द्र रोकाया ‘उत्तम’ लाई पनि प्रमाणपत्रसहित सम्मान गरिएको छ।
गाउँसभा अध्यक्ष रानाका अनुसार यस्तो सम्मानले कर्मचारीहरूको मनोबल उच्च बनाउने र आगामी दिनमा अझ बढी प्रेरणाका साथ सेवा गर्न उत्प्रेरित गर्ने विश्वास लिइएको छ। अघिल्ला आर्थिक वर्षहरूमा पनि उत्कृष्ट कर्मचारीलाई यस्तै ढंगले सम्मान गरिँदै आएको स्मरण गराउँदै उनले यस परम्परालाई निरन्तरता दिइने बताए।

डोल्पा न्यूज । ९ असार २०८२, सोमबार ०८:०६