कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा सूर्यनाथ योगी नियूक्त भएका छन् ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले वीरेन्द्रनगर नगरपालिका वडा नं.४ निवासी योगीलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारले लामो समयसम्म रिक्त रहेको कर्णाली प्रदेश योजना आयोगलाई पुर्णता दिएको हो । कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ३ को उपदफा (२) को खण्ड (ख) र (ग) मा व्यवस्था भएअनुसार उपाध्यक्ष र सदस्य पदमा दफा १२ बमोजिम आयोग गठन गर्ने निर्णयसँगै उपाध्यक्ष सहित दुई जना सदस्यहरुको पनि नियुक्त गरेको छ ।
आयोगको सदस्यहरुमा मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं. ५ का डम्मरबहादुर रावल र रास्कोट नगरपालिका वडा नंं ३ कालिकोटका अशोकनाथ योगी सदस्यमा नियुक्त भएका छन् । उनिहरुको आज बिहीबार बिहान ११ बजे पद तथा गोपनियताको शपथ खाएका छन् ।
उपाध्यक्षमा नियुक्त भएका सूर्यनाथ योगी र सदस्य डम्मर रावल नेकपा एमाले निकट हुन् भने अर्का सदस्य अशोकनाथ योगी नेपाली कांग्रेस निकट हुन् ।
उपाध्यक्षमा नियुक्त भएका योगी दैलेखको गमौडीमा जन्मिएका हुन् । हाल वीरेन्द्रनगर नगरपालिका–४, निवासी योगी कृषि विज्ञ हुन् । उनी योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका क्याम्पस प्रमुख समेत हुन् ।
उनी भारत, थाइल्यान्ड लगायतका विभिन्न देशहरूमा गएर त्यहाँको विकासबारे अध्ययन अनुसन्धान समेत गरेका छन् । उनीहरु कर्णालीको बौद्धिक तथा लामो समयदेखी सामाजिक सेवामा सक्रिय व्यक्तित्व हुन् ।