पुर्ण सार्की/डोल्पा, चैत ३०: नेकपा माओवादी केन्द्र त्रिपुरासुन्दरी नगर कमिटीको ऐतिहासिक दोस्रो नगर सम्मेलन शनिबार त्रिपुरासुन्दरी नगरपालिका–०१, त्रिपुराकोट बगरस्थित खेलमैदानमा भव्य रूपमा सम्पन्न भएको छ। सम्मेलनले रञ्जित बुढाको अध्यक्षतामा ३९ सदस्यीय नगर कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
उक्त सम्मेलनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। सम्मेलन उद्दघाटन गर्न सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट निर्वाचित सांसद सापकोटा पहिलो पटक डोल्पा पुगेका थिए। सम्मेलनलाई सम्बोधन गर्दै उनले त्रिपुरासुन्दरीमा एमालेको वर्चस्व तोड्नुपर्ने बताए र यसपटकको सम्मेलनबाट उत्साहित भएको प्रतिक्रिया दिएका थिए।
सम्मेलनले अध्यक्ष बुढाका साथ उपाध्यक्षमा दीपेन्द्र चलाउने, टंक बोहोरा र रुद्रमान बुढा, कोषाध्यक्षमा कल्पना बस्नेत विक, सचिवमा पन्न नेवार, सह–सचिवमा चन्द्ररुप रावत र हर्क बहादुर विकलाई चयन गरेको छ। साथै, विष्णु बहादुर बोहोरा, बम बहादुर विक, तिलक विक, बुद्दी बहादुर रावत, माया विक, शान्ति गुरुङ, चन्द्र केसी, हरिलाल केसी, सुरेन्द्र रावत, लोक बहादुर विक, धन बहादुर डाँगी, बाग बहादुर बम ठकुरी लगायत अन्य सदस्यसमेत समेटेर ३९ सदस्यीय कार्यसमिति निर्माण गरिएको हो।
सम्मेलनमा नेकपा माओवादी निकट वाइसियल, बुद्धिजीवी संगठन, राष्ट्रिय दलित मुक्ति मोर्चाको नगर कमिटी पनि गठन गरिएको छ।
पूर्व नगरकमिटी अध्यक्ष मोती गौतम पारसका अनुसार, नवगठित समिति २०८४ सालमा हुने स्थानीय निर्वाचनलाई लक्षित गरी गठन गरिएको हो। त्रिपुरासुन्दरीका ११ मध्ये हाल ६ वडामा विजय हासिल गरिसकेको माओवादी केन्द्रले आगामी निर्वाचनमा सम्पूर्ण वडा सहित नगर प्रमुख र उप–प्रमुख पदमा विजय हासिल गर्ने दाबी गरेको छ।
केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज काली चलाउनेले सम्मेलनको दोस्रो अधिवेशन ऐतिहासिक तथा जनउर्जाले भरिएको बताइन्। उनले जनताको साथ र समर्थनले पार्टीलाई थप उत्साहित बनाएको उल्लेख गर्दै नवगठित समितिलाई बधाई दिइन्। साथै, जनताको समस्या समाधानमा पार्टी सधैं प्रतिबद्ध रहेको समेत बताएकि थिइन्।
सम्मेलनको उद्घाटन सत्रमा सांसद माधव सापकोटाले एक घण्टा लामो सम्बोधन गर्दै डोल्पाका समस्या संसदसम्म उठाउने प्रतिबद्धता जनाए। उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्मेलनको सफलताको शुभकामना दिएको जानकारी दिँदै, पार्टीकी केन्द्रीय सदस्य चलाउने सगै वैकल्पिक केन्द्रीय सदस्य ग्याल्पो भोटेको पहलमा उपल्लो डोल्पामा इलाका प्रशासन कार्यालयको स्थापनाको लागि सम्पुर्ण प्रकृया पुरा भएको र अब चाँडै नै स्थापना हुने बताए।
यसै अवसरमा कर्णाली प्रदेशकी पूर्व ऊर्जा मन्त्री तथा सांसद उर्मिला विश्वकर्माले सम्मेलनमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको उल्लेख गर्दै आगामी दिनमा माओवादी केन्द्र नै पहिलो शक्ति बन्ने विश्वास व्यक्त गरिन्।
नेकपा माओबादी केन्द्रको दोश्रो नगर सम्मेलनमा बाक्लो जनमासको उपस्थित देखेर नेपाली कांग्रेस र नेकपा एमालेका नेतागणहरुले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै नगर सम्मेलनको तारिफ गरिरहेका छन्। जनताको आस्था र पार्टी सुढुदिकरणमा नेकपा माओबादी केन्द्रले विशेष ध्यान दिएको सत्तारुढ दलहरुको भनाइ रहेको छ। अन्य पार्टीका नगर सम्मेलन भन्दा माओवादीको सम्मेलन अलि फरक र जनमत बढी उपस्थित रहेकोमा सबै दलहरू डोल्पामा छक्क परिरहेका छन्।
सम्मेलन सुरु हुनु अघिनै हजारौंको संख्यामा सर्वसाधारण सहभागी भई त्रिपुराकोट बगर बजार क्षेत्रमा बृहत र्याली निकालेका थिए। झण्डा, नारासहितको र्यालीमा सर्वसाधारणको मन उत्साहले भरिएको थियो।
नगर सम्मेलनलाई स्थानीय जनसमुदाय, कार्यकर्ता तथा नेताहरूले ऐतिहासिक, उत्साहपूर्ण र आगामी राजनीतिक लक्ष्य हासिल गर्नका लागि कोसेढुंगा भनेका छन्। सम्मेलनमा सयौको संख्यामा विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादी केन्द्र प्रवेश गरेका थिए।
फोटो: पुर्ण सार्की