ताजा समाचार

डोल्पामा यात्रु सवारी साधनका लागि नयाँ भाडादर निर्धारण, अनियमितता नियन्त्रणमा जोड

विष्णुप्रसाद देवकोटा

 डोल्पा, कात्तिक १२ — जिल्ला डोल्पामा यात्रु सवारी साधनका लागि नयाँ भाडादर कायम गरिएको छ।बुधवार प्रमुख जिल्ला अधिकारी भीमराज कोइरालाको अध्यक्षतामा यातायात व्यवसायीहरूसँग बसेको बैठकले विभिन्न मार्गका लागि नयाँ भाडादर निर्धारण गर्नुका साथै यातायात क्षेत्रलाई व्यवस्थित र पारदर्शी बनाउन थुप्रै निर्णय गरेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।

बैठकले जिल्लाभित्र सञ्चालनमा रहेका सार्वजनिक सवारीसाधनहरूले अस्थायी कर परमिट अनिवार्य रूपमा लिनुपर्ने, नियमित चेकजाँच कडाइका साथ गरिने, टिकट काउन्टरका कर्मचारीहरूले परिचयपत्र अनिवार्य रूपमा लगाउनुपर्ने, र चालक–सहचालकले यात्रुसँग शिष्ट र मर्यादित व्यवहार गर्नुपर्ने निर्णय गरेको छ।

साथै, सवारीसाधनहरूले सिट क्षमताअनुसार मात्र यात्रु बोक्न र प्रत्येक यात्रुलाई टिकट अनिवार्य रूपमा जारी गर्नुपर्ने पनि व्यवस्था गरिएको छ।बैठकले विभिन्न मार्गका लागि निम्न भाडादर निर्धारण गरेको छ ।

साना सवारी साधनमा: दुनै–जुफाल ३५० रुपैयाँ, दुनै–त्रिपुराकोट ३५० रुपैयाँ, दुनै–त्रिवेणी १००० रुपैयाँ।

ठूला सवारी साधनमा: दुनै–जुफाल २५० रुपैयाँ, दुनै–त्रिपुराकोट २५० रुपैयाँ, दुनै–त्रिवेणी ८०० रुपैयाँ।

प्रमुख जिल्ला अधिकारी कोइरालाले यातायात क्षेत्रमा देखिएका अनियमितता र यात्रुप्रतिको गैरजिम्मेवार व्यवहार अन्त्य गर्न सबै पक्षले इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन्।

यी निर्णयहरूको कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान कार्यालयबीच संयुक्त समन्वय गरी निगरानी बढाउने सहमति बैठकले गरेको छ।

बैठकमा प्रशासन, सुरक्षा निकायका प्रमुखहरू र जिल्लाभित्रका यातायात व्यवसायीहरूको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया