ताजा समाचार

सुर्खेतमा सडकमा उत्रियाे तरुणदल

वीरेन्द्रनगर । नेपाल तरुण दल, सुर्खेतले संविधानको रक्षा र राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्न माग गरेर प्रदर्शन गरेको छ ।

बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा तरुण, युवा, विद्यार्थी लगायतले प्रदर्शन गरेका हुन् । नेपाल तरुण दल, सुर्खेतका अध्यक्ष हरि विष्टले भने, ‘संविधान र गणतन्त्रको रक्षार्थ तथा राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्न मागसहित सुर्खेतमा नेपाल तरूण दल, नेविसंघ र लोकतान्त्रिक खेलकुदद्वारा शान्तिपूर्ण प्रदर्शन गरेका छौँ ।’

अध्यक्ष विष्टले संविधानको रक्षा र राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्न माग गरेर टाउकोमा कफन बाँधेर तरुण, युवा, विद्यार्थी, खेलाडीहरू सडकमा उत्रिएको बताएका छन् । तरुण अध्यक्ष विष्टले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा.आरजु राणामाथि सांघातिक हमला भएको पनि विरोध गरेका छन् । उनले लोकतन्त्रका लागि संघर्ष गरेका सभापति देउवामाथि अमानवीय व्यवहार हुनु निकै दुखद् भएको बताएका छन् ।

तरुण, युवा विद्यार्थीले प्रदर्शन गरेपछि सुर्खेत प्रहरीले हस्तक्षेप गरेको तरुण अध्यक्ष विष्टले बताए । उनले भने, ‘साथीहरू घरघरबाट निस्कन सुरू भएको छ । प्रहरी प्रसाशनले दमन गरेको छ । एकजना प्रदर्शकारीलाई प्रहरीले पक्राउ गरेको छ । सकुशल रिहाइको माग गर्दछौं ।’

‘प्रहरी प्रशासनले नै देशलाई गृहयुद्धमा धकेल्न चाहेको संज्ञा दिएको छ । आज धरपकड र दमन भएपछि भोलिका दिनेमा ठूलो प्रदर्शन गर्नेछौँ,’ तरुण अध्यक्ष विष्टले भनेका छन् ।

तरुण, युवा, विद्यार्थीको शान्तिपूर्ण प्रदर्शनमा युवा संघ र अनेरास्वबियु लगायतका नेताहरूले पनि ऐक्यबद्धता जनाएका छन् ।

तपाईको प्रतिक्रिया