ताजा समाचार

डोल्पामा जनचेतनामूलक कार्यक्रम सहित स्वच्छता दिवस मनाइयो

विष्णुप्रसाद देवकोटा 

डोल्पा, जेठ १५ – हिमाली जिल्ला डोल्पाका विभिन्न पालिकामा ‘महिनावारी मैत्री समाजका लागि सहकार्य’ भन्ने मूल नाराका साथ विश्व महिनावारी स्वच्छता दिवस २०२५ विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ भव्य रुपमा मनाइएको छ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका अन्तर्गतको स्वास्थ्य शाखाको आयोजनामा तथा वास एकाई शाखा (सुस्वा) को सहकार्यमा आयोजित यो दिवसलाई विशेष बनाउँदै सामुदायिक विद्यालयहरू तथा खानेपानी योजना कार्यक्षेत्रहरूमा जनचेतना फैलाउने उद्देश्यसहित विविध कार्यक्रमहरू सम्पन्न गरिएका हुन्।

त्रिपुरा माविमा वक्तृत्वकला र सडक नाटक

दिवसको अवसरमा त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित त्रिपुरा माध्यमिक विद्यालय, काटियाचौर मा विशेष कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रममा ‘महिनावारी मैत्री समाजका लागि सहकार्य’ विषयक वक्तृत्वकला प्रतियोगिता प्रमुख आकर्षण रहेको थियो। प्रतियोगितामा छात्रा गणेशा न्यौपाने र अम्बिका कठायत ले संयुक्त रुपमा पहिलो स्थान हात पार्दा, राधा देवकोटा दोस्रो तथा हजारी सार्की तेस्रो स्थानमा रहन सफल भए।

विद्यार्थीहरूद्वारा प्रस्तुत महिनावारी सम्बन्धी जनचेतनामूलक सडक नाटकले समाजमा महिनावारीका सन्दर्भमा विद्यमान भ्रामक धारणाहरूलाई चुनौती दिएको थियो। नाटकमार्फत महिनावारीको समयमा किशोरीहरूलाई भोग्नु पर्ने सामाजिक, मानसिक र भौतिक सन्दर्भहरूमा गहिरो सन्देश सम्प्रेषण गरिएको थियो ।

त्यस्तै, सुस्वा शाखाको सहकार्यमा त्रिपुरासुन्दरी–९, चु गाउँ मा समेत दिवस विशेष कार्यक्रमको आयोजना गरिएको थियो। खानेपानी आयोजनाका उपभोक्ता समिति तथा स्थानीय समुदायको सक्रिय सहभागितामा महिनावारीका समयमा सरसफाइ र सामाजिक समावेशीतालाई प्रोत्साहन गर्ने विषयमा छलफल भएको थियो।

कार्यक्रम प्रारम्भ हुनु पूर्व, नगरपालिका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी पुस्पा रावतले कक्षा ६ देखि १० सम्मका छात्राहरूलाई महिनावारी अवधिमा अपनाउनुपर्ने सरसफाइ, पौष्टिक आहार तथा व्यवहारगत पक्षहरूमा जानकारी दिइन्। उनले महिनावारीलाई सामान्य जैविक प्रक्रिया मान्दै, आत्मविश्वासका साथ सुरक्षित अभ्यासहरू अपनाउन आवश्यक रहेको सन्देश दिइन्।

विद्यालयका प्रधानाध्यापक तुल बहादुर विष्टले यस्ता जनचेतनामूलक कार्यक्रमहरू विद्यालयमै सम्पन्न हुनु सकारात्मक संकेत भएको बताउँदै आयोजक निकायहरू प्रति आभार व्यक्त गरे। “डोल्पाजस्ता दुर्गम क्षेत्रमा अझै पनि महिनावारीलाई गलत दृष्टिकोणले हेरिन्छ। किशोरीहरूलाई घरपरिवार र भान्सा भन्दा टाढा राख्ने चलन व्याप्त छ,” उनले भने, “यसलाई परिवर्तन गर्न यस्तै कार्यक्रमहरूले ठोस भूमिका खेल्नेछन्।”

कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, स्वास्थ्य शाखाका प्रतिनिधिहरू, वास एकाईका संयोजक धन प्रसाद बुढा, प्रमुख तुल बहादुर श्रेष्ठ, स्वास्थ्यकर्मी शान्ति  रावत तथा विद्यार्थीहरू लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

यस किसिमका कार्यक्रमहरूले स्थानीय स्तरमा महिनावारी सम्बन्धी सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ। स्थानीय सरकार र सहकार्य गर्ने संस्थाहरूको यो कदमले डोल्पा लगायतका हिमाली क्षेत्रहरूमा महिनावारी–मैत्री समाज निर्माण गर्ने यात्रालाई सार्थक दिशा दिने अपेक्षा गरिएकाे छ।

तपाइको प्रतिक्रिया