ताजा समाचार

डोल्पामा लटरम्म अर्गानिक अंगुर, तर बजारविहीन

विष्णुप्रसाद देवकोटा 

त्रिपुरासुन्दरी (डोल्पा) भदौ ३ गते । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा किसानका बगैंचामा अहिले लटरम्म अर्गानिक अंगुर फलिरहेका छन्। स्वादमा मिठास, रंगमा गहिराइ र सुगन्धले लोभ्याउने यी अंगुर बजारमा बिक्न नसक्दा किसान निराश छन्।

२०७५ सालमा त्रिपुरासुन्दरी नगरपालिकाका विभिन्न वडामा अंगुर खेती निकै सपनासहित सुरु गरिएको थियो। तत्कालीन मेयर ओमबहादुर बुढाले आर्थिक समृद्धिको मेरुदण्ड कृषि नै हुने घोषणा गर्दै खातिज्युला, गल्ली, रल्ली र रंगको फोइमा अर्गानिक अंगुर खेती विस्तार गरे।

भारतको नासिक शहरसम्म स्थलगत अध्ययन गरेर बिरुवा ल्याइयो, खेती विस्तार गरियो। सुरुमा नेतृत्व र किसान दुवै उत्साहित थिए। केही वर्षमै अंगुरका दानाहरू लटरम्म टल्किए, बगैंचा नयाँ पहिचान बन्न थाले।

तर अहिले ती दानाहरू खेतमै कुहिँदैछन्।किसान पुजा श्रेष्ठ भन्छिन् :“यो अंगुरको गुणस्तर अरूले स्वाद लिन पाएको भए, डोल्पा नामसहित बिक्थ्यो। तर बजार नहुँदा हामीले फल खेर फाल्नुपरेको छ। राम्ररी मूल्य पाएको भए वार्षिक ३ लाखसम्मकमाइ सम्भव थियो।

”त्यस्तै अर्का किसान कमल हमालको गुनासो फरक छैन :ढुवानी खर्च असह्य छ, खरिदकर्ता न्यून छन्, बिचौलियाले मात्रै नाफा कमाउँछन्। हामीलाई न मूल्य मिल्यो, न सम्मान।”

सुरुमा प्राथमिकतामा राखिएको परियोजना अहिले नीतिगत र भौतिक सहयोगविहीन बनेको किसानहरूको आरोप छ। नगर प्रमुख जनचन्द्र रोकायासहितका जनप्रतिनिधिको ध्यान समेत यो समस्यातर्फ खासै पुग्न नसकेकाे अंगुर किसानकाे भनाई छ ।

नगर कृषि शाखा अधिकृत रमेश बहादुर रावत भन्छन् :“समयमै बजारिकरण योजना, भण्डारण सुविधा, प्रशोधन उद्योग र यातायात पूर्वाधार निर्माण भएको भए अंगुर खेती डोल्पाको आर्थिक मेरुदण्ड बन्न सक्थ्यो। तर उत्पादन गुणस्तरीय भए पनि भित्र बियाँ भएकाले बजारमा प्रतिस्पर्धा गर्न कठिनाइ भएको छ।”

डोल्पा सत्कार उद्योगले प्रतिकेजी ४० रुपैयाँमा किसानको अंगुर खरिद गर्न थालेको छ। संचालिका बवदमीक्वारी बुढाको भनाइमा :

“यसले किसानको फल खेर जानबाट जोगाइदिएको छ। साथै अर्गानिक वाइन उत्पादनको सुरुवातमा पनि सहयोग पुगेको छ।”

विशेषज्ञहरूको ठहरमा, पर्यटनसँग जोडेर ‘अर्गानिक अंगुर भिलेज’ को रूपमा ब्रान्डिङ गर्न सके डोल्पाको अंगुर अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने सम्भावना उच्च छ।तर त्यसका लागि सरकारको भूमिका निर्णायक छ :प्रशोधन उद्योग र कोल्ड स्टोरेज यातायातमा अनुदान निर्यात प्रबर्द्धन

किसानलाई वित्तीय तथा प्राविधिक सहयोग लगायतका पूर्वाधार निर्माण नगरे अंगुर खेती फेरि पनि ‘सपना मात्र’ बन्न सक्ने खतरा देखिन्छ।

त्रिपुरासुन्दरीका फोइ, रल्ली, गल्ली र खातिज्युलामा अहिले पाकेका दानाहरू हिमाली घाममा चम्किरहेका छन्। तर उनीहरूको गन्तव्य अझै अज्ञात छ, मूल्यको प्रतिक्षा लामो छ।

डोल्पामा लटरम्म फलेको यो अंगुर किसानको हातमा मिठास ल्याउने हो, कि फेरि पनि सरकारी उदासीनताले खेतमै कुहिने हो?

तपाईको प्रतिक्रिया