ताजा समाचार

वालविवाह विरुद्धको साझा सञ्जाल अभियानकाे समिक्षा: २०२५ मा नयाँ रणनीति अघि बढ्ने

विष्णुप्रसाद देवकोटा 

डोल्पा, जेठ १४ – वालविवाह अन्त्यकाे राष्ट्रिय लक्ष्य २०३० लाई लक्ष्यित गर्दै कर्णाली प्रदेशको डोल्पा जिल्लामा वालविवाह विरुद्धको साझा सञ्जाल अभियान २०२५ का लागि विशेष रणनीति तय गरिएको छ। ठूलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका र जगदुल्ला गाउँपालिकामा अभियान क्रियाशील रूपमा संचालनमा रहेको छ।

अभियानका लागि हालसम्म एक लाख ४१ हजार रुपैयाँ बजेट प्राप्त भइसकेको छ। प्राप्त स्रोत र समन्वयका माध्यमबाट प्रभावकारी कार्यान्वयनको तयारी भइरहेको छ।

कार्यक्रमको समिक्षा र भावी रणनीति

वालविवाह विरुद्धको साझा सञ्जाल अभियानले हालसम्म संचालन गरेका गतिविधिहरूको समिक्षा गर्दै आगामी दिनमा थप योजनाबद्ध र लक्षित रुपमा अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ। कार्यक्रमको अवसरमा अभियानका कर्णाली प्रदेश सचिवालय सदस्य तथा गरिब तथा दलित उत्थान समिति संयोजक रणबहादुर कार्कीले हालसम्मका गतिविधि, बजेटको उपयोग, र भविष्यका रणनीतिबारे प्रकाश पार्नु भयाे।

उहाँका अनुसार, “२०३० सम्म वालविवाहमुक्त नेपाल बनाउने सरकारी लक्ष्यलाई सार्थक तुल्याउन समुदाय, विद्यालय, अभिभावक र सरकारी निकायबीच समन्वय र सहकार्य अपरिहार्य छ। आगामी अभियानहरू थप गहन र प्रभावकारी हुनेछन्।”

समुदायस्तरमा क्रियाशीलता र समन्वय

वडास्तरमा प्रभावकारी क्रियाशीलता बढाउन प्रत्येक पालिकामा वडागत छनौटको आधारमा कार्यक्रम संचालन गरिने भएको छ। वालविवाह सम्बन्धी उजुरीकाे संकलन, पीडितकाे संरक्षण, जनचेतना अभिवृद्धि, र स्थानीय सरकारसँग सहकार्य गर्दै समुदायमा प्रभावकारी सचेतनामूलक कार्यक्रम सन्चालन गरिने योजना छ।

सहकार्य र हातेमालोको प्रतिबद्धता

समाज जागरण केन्द्र (स्याक) का प्रतिनिधि चिरञ्जीवी पौडेलले कार्यक्रममा बोल्दै, “बाल अधिकारको संरक्षण र वालविवाह विरुद्धको साझा सञ्जाल अभियानमा स्याकले पूर्ण साथ दिनेछ,” भन्ने प्रतिबद्धता जनाउनु भयाे। उनले आगामी अभियानमा हातेमालो गर्दै अघि बढ्ने दृढता व्यक्त गरे।डोल्पा जिल्लाका तीन पालिकामा संचालन हुने वालविवाह विरुद्धको साझा सञ्जाल अभियानले २०३० को लक्ष्य प्राप्तिमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। स्थानीय तहमा समुदाय, सरोकारवाला निकाय र संघसंस्थाबीचको समन्वय र सक्रिय सहभागिता नै अभियानको सफलता सुनिश्चित गर्ने प्रमुख आधार बन्नेछ।

कार्यक्रम समाज जागरण केन्द्र (स्याक)को कार्यालयमा सम्पन्न भएको थियो। कार्यक्रमको अध्यक्षता सुमित्रा गुरुङले गर्नु भएकाे थियाे ।

तपाईको प्रतिक्रिया