ताजा समाचार

त्रिपुरासुन्दरीमा जनचेतना अभिवृद्धिका लागि दुईदिने कार्यक्रम सम्पन्न

विष्णुप्रसाद देवकोटा

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका केन्द्रमा दुई दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। जिल्ला खानेपानी तथा उर्जा विकास कार्यालय, डोल्पाको आयोजनामा उपभोक्ता समितिका पदाधिकारीहरूलाई लक्षित गरी संचालन गरिएको उक्त कार्यक्रम खुला दिशा मुक्त क्षेत्रको अवस्था विश्लेषण र जनचेतना अभिवृद्धि अभियानमा केन्द्रित थियो।

कार्यक्रममा उपभोक्ता समितिका पुराना तथा बहालवाला पदाधिकारीहरूको सहभागिता उल्लेखनीय रहेको थियो। सहभागीहरूलाई खानेपानी तथा सरसफाइको वर्तमान अवस्था, चुनौती र समाधानका उपायबारे जानकारी दिइयो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै त्रिपुरासुन्दरी नगरका प्रमुख जनचन्द्र रोकायाले ग्रामीण भेगमा स्वच्छता प्रवर्द्धन गर्दै खुला दिशा मुक्त समाज निर्माणमा समितिको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताए। विशेष अतिथि देवि घर्तीले सरसफाइ र जनस्वास्थ्यका लागि दीर्घकालीन सोच र योजनाको खाँचो औंल्याइन्।

खानेपानी तथा सरसफाइ प्राविधिक कृष्ण रुप बुढा र सब इन्जिनियर विवेक पुनमगरले सहजीकरण गर्दै सहभागीहरूलाई प्रविधि, रणनीति तथा सरकारी नीतिहरूको विस्तृत जानकारी गराएका थिए।

कार्यक्रमले सहभागीहरूमा व्यवहार परिवर्तनमार्फत दीगो सरसफाइ प्रवर्द्धन गर्ने सोच अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा लिइएको छ। आयोजक कार्यालयका अनुसार यस्ता कार्यक्रम जिल्लाका अन्य पालिकाहरूमा पनि क्रमशः विस्तार गरिँदै छन्।

तपाईको प्रतिक्रिया