ताजा समाचार

उपल्लो डोल्पाका ९ हजार नागरिक राष्ट्रिय परिचयपत्रबाट वन्चित

उपल्लो डाेल्पाका नाै हजार नागरिक राष्ट्रिय परिचय पत्रबाट वञ्चित भएका छन्।

डोल्पाको उत्तरी भागमा पर्ने उपल्लो डोल्पाका तीन स्थानीय तह — डोल्पोबुद्ध, शे–फोक्सुन्डो र छार्काताङ्सोङ गाउँपालिकाका  नागरिक राष्ट्रिय परिचय पत्रबाट वञ्चित भएका हुन।

जिल्लाको अन्य पाँच स्थानीय तहमा घुम्ती टोलीमार्फत परिचय पत्र वितरण सुरु भइसकेको भए पनि नेपाल टेलिकमको इन्टरनेट सेवा नहुँदा उपल्लो डोल्पामा भने यो प्रक्रिया थालिन सकेको छैन।

शे–फोक्सुन्डो गाउँपालिका–१ निजालका पेम्मा छिरिङ गुरुङ भन्छन्, “हाम्रो गाउँका धेरैले नागरिकतासमेत लिएका छैनन्। वृद्धवृद्धालाई सदरमुकाम आउन–जानमै दश–बाह्र दिन लाग्छ। राज्य आफैं गाउँमै पुगेर परिचय पत्र बनाउने व्यवस्था मिलाउनुपर्छ।”

छार्काताङ्सोङ गाउँपालिकाका अध्यक्ष सेनाङ् गुरुङले इन्टरनेट नहुँदा स्थानीयवासी परिचय पत्र लिनबाट वञ्चित भएको बताए।

प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार, हालसम्म दुई स्थानीय तहमा वितरण सकिएको र त्रिपुरासुन्दरी नगरपालिकामा कार्य जारी छ। तर उपल्लो डोल्पामा इन्टरनेट नहुँदा टोली पठाउन नसकिएको बताइएको छ।

स्थानीय सरकार र प्रशासनको समन्वयमा समाधान खोजी भइरहेको भए पनि इन्टरनेटजस्तो आधारभूत पूर्वाधारको अभावले राष्ट्रिय योजना अवरुद्ध भएको छ।

तपाईको प्रतिक्रिया