ताजा समाचार

डोल्पाको जुफाल लगायत दर्जन मठमन्दिरमा शान्ति र सदभावको प्रतीक भदौ पुर्णिमा मेला सम्पन्न

विष्णुप्रसाद देवकोटा

डोल्पा,२ असोज

धार्मिक सहिष्णुता शान्ति, सद्भाव र एकताको रुपमा मनाइने भदौ पूर्णिमा मेला डोल्पाको जुफाल लगायतका विभिन्न ठाउँमा रहेका शक्तिपीठमा धुमधामका साथ मनाइएको छ ।

जिल्लाको ठुलिभेरि नगरपालिकाको जुफाल, तिब्ला , थाला , रह लोचा त्रिपुरासुन्दरीको  रूम, दापु ,  मुड्केचुलाको सर्मी, होर्त, जगदुल््लाको रीमी, माझँगाउ लगायतका दर्जन बढी मठमन्दिरमा धुमधामका साथ मनाईने मनाइएको छ ।

बडादशै अगाडि मनाइने भदौ पुर्णिामा पर्वलाई विशेष महत्वका साथ मनाउने चलन डोल्पामा छ ।

डोल्पाको ठुलिभेरी नगरपालीकाको  जुफालमा यो पर्व अन्य स्थानको भन्दा बढी धुमधामका साथ मान्ने चलन छ ।

जिल्लाका अन्य तीर्थस्थलमा भने चतुर्थी र पूर्णिमाका दिनमा मात्र मनाउने यो पर्व जुफालमा एकादशीको दिनदेखि एक हप्तासम्म मनाउने चलन छ ।

यो पर्वमा  देवता आएपछि विशेष गरी महिला र युवतीले पनि मन्दिरमा पतुर्ने (धामी नाच्ने) गरेको पाइएको छ ।

शक्तिपिठमा धामीले आफ्नो शक्ति प्रदर्शन गर्नका लागि कोही धामीले दूध ओकल्ने, जमरा उमार्ने, तातो तेल पिउने लगायतका अद्भुत शक्ति समेत देखाउने प्रचलन रहंदै आएको छ ।

जिल्लाका आठ वटै स्थानीय तहमा भदौ पुर्णिमा पर्वमा पुजाआजा गरिदै आएपनि जुफालको बिडी थान  मन्दिरमा धामीको नृत्यले यहाँका दर्शनार्थीलाई थप रोचकता थप्ने गरेको छ ।

यो पर्वमा वृद्ध देखि  युवायुवतीले डेउडा खेलेर आफ्ना मनका बह र माया पिरती साट्ने गरेको जुफाल माउण्टपुथा होटल संचालक तथा स्थानीय बबिन शाहीले बताउनु भयो ।

हिन्दूको चाड भएको भए पनि यो पर्व मनाउनका लागि बौद्ध धर्मावलम्बीले पनि सौहाद्रता स्वरुप समर्थन गर्ने गर्दछन ।

आन्तरिक र बाह्य पर्यटकका लागि यो पर्वले विशेष महत्व राख्ने गरेको स्थानीय बयोबृद्द नवराज शाहीले बताउनु हुन्छ ।उहाँका अनुसार रामाचुला ,मन्मा ,औतारी  मष्टो लगायतका पाँच  प्रकारका देवता काम्ने पतुर्ने चलन छ ।

भोटे देवता भएकाले सबैले भेडाबलि खाने र यो देवता पुजा गरेमा निसन्तानलाई सन्तान प्रदान गर्ने,बर्षा र सहकालका देवताको रुपमा समेत पुजाआजा गर्दै आएको शाहीको भनाई छ ।

नयाँ  विवाहा भएका पुरुष तथा विवाहा गरेकी छोरी अनिवार्य रुपमा सन्तानको लागि बोकाबलि चढाउने प्रचलन छ ।

विगतका वर्षमा परम्परागत काठ र माटोवाट बनेको मन्दिरमा पुजाआजा गरिने भएपनि यो वर्षवाट अत्याधुनिक नयाँ मन्दिर निर्माण भई पुजाआजा भएकाले पनि मण्डब मन्दिर मेलाको महत्व थप चुलिएको वडानम्बर ८ का वडाअध्यक्ष मनराम ठकुल्लाको भनाई छ ।

कलात्मक नयाँ मन्दिर निर्माणले गर्दा विगतको तुलनामा यो वर्ष मेलाभर्न आउनेको संख्या पनि धेरै भएको स्थानीय कमल बुढाले जानकारी दिनु भयो ।

ब्यापारिक हिसावले पनि यो मेलामा जुफालको मण्डपमा राखिने विभिन्न ब्यापरिक स्टलहरुमा लाखौंको ब्यापार हुने गर्दछ ।

मेलामा अमर्यादित तथा अनैतिक एवं अपराधिक गतिविधि हुन नदिन शान्ति सुरक्षाको लागि नगर प्रहरी तथा नेपाल प्रहरी समेत परिचालन गरिएको थियो ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहाल प्रहरी नायव उपरिक्षक हरिकुमार केसी ठुलिभेरीनगरका नगरप्रमुख श्ववर्ण बुढा लगायतका उच्चउदस्थ अधिकारीहरु समेत यो वर्ष जुफाल भदौ पुर्णिमा मेला भर्न पुग्नु भएको थियो ।

मेला भर्न आएका कुनैपनि दर्शकनार्थीहरु खालीपेट(भोक पेट) नजाउन भनेर मेला भर्न पुगेका सयौ दर्शनार्थीलाई निशुल्क प्रसादको रुपमा पेटभरि पुरि तरकारी लगायतका मिष्ठान्न भोजन गराएर पठाउने प्रचलन रहेको छ ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!