विष्णुप्रसाद देवकोटा
डोल्पा । त्रिपुरासुन्दरी नगरपालिकाकी उपप्रमुख देवी घर्तीमाथि हातपातको प्रयास भएको छ। असार ८ गते साँझ त्रिपुरासुन्दरी–१ स्थित कान्छीबजारमा यो घटना भएकाे हो।
नगरसभाका लागि नीति तथा कार्यक्रम तयारी गरी घर फर्किँदै गरेकी उपप्रमुख घर्तीमाथि त्रिपुरासुन्दरी–९ का वडाध्यक्ष राजु बुढाले बाटोमै गाडी रोकी हातपात गर्न खोजेका थिए। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार वडाध्यक्ष बुढाले घर्तीको आइफोन जबरजस्ती खोसेर कब्जा गरेका थिए।
प्रहरी नायब उपरीक्षक (डिएसपी) रुकबहादुर खड्काका अनुसार घटना लगत्तै जनपद प्रहरी खटिए पनि स्थानीयको अवरोधका कारण नियन्त्रण लिन मुस्किल भएपछि सशस्त्र प्रहरी बल परिचालन गरेर वडाध्यक्ष बुढालाई नियन्त्रणमा लिइएको हो।
“मोबाइल खोसेर अपशब्द बोलेको र गालीगलौज गर्दै शारीरिक हातपात गर्न खोजेको गुनासो उपप्रमुख घर्तीबाट आएको छ,” डिएसपी खड्काले बताए।
उक्त घटनाले त्रिपुरासुन्दरी नगरपालिकाको ११ औं नगरसभा (असार १० गते) मा प्रत्यक्ष असर पार्ने सम्भावना देखिएको छ।
नेकपा एमालेबाट निर्वाचित उपप्रमुख घर्तीले घटना सम्बन्धमा आधिकारिक उजुरी दिन सदरमुकाम दुनै आइपुगेको जानकारी दिएकी छन्। हातपात प्रयासका आरोपी वडाध्यक्ष राजु बुढा भने माओवादी केन्द्रबाट निर्वाचित हुन्।
नगरप्रमुख जनचन्द्र रोकायासँग सम्पर्क गर्ने प्रयास गर्दा नियमित प्रयोग हुने मोबाइल नम्बर ९८५१०२९२४० रिसिभ नभएको कारण प्रतिक्रिया लिन सकिएन।
डोल्पाको राजनीति र स्थानीय तहको वातावरणमा तरंग ल्याउने यो घटनाले सार्वजनिक पदाधिकारीबीचको आन्तरिक असहमति मात्र होइन, विधिको शासनप्रति जिम्मेवारीबोधको सवाल पनि उठाएको छ।

डोल्पा न्यूज । ९ असार २०८२, सोमबार १४:२०