ताजा समाचार

डोल्पा जिल्ला अस्पतालमा अत्याधुनिक युएसजी मेसिन जडान, मुटुको जाँच सेवा सुरु

विष्णुप्रसाद देवकोटा 

डोल्पा,असार १८ गते ।डोल्पा जिल्ला अस्पतालमा अत्याधुनिक रङ्गीन डप्लर र इको प्रोपसहितको युएसजी (USG) मेसिन जडान गरी सेवा सुरु गरिएको छ। सामसुङ कम्पनीको एचएस–३० (HS-30) मोडेलको उक्त मेसिन अस्पताल विकास समितिका अध्यक्ष श्री कमल बहादुर शाहीको अध्यक्षतामा आयोजित कार्यक्रममा औपचारिक रूपमा उद्घाटन गरिएको हो।

याे आधुनिक उपकरण डोल्पा जिल्ला अस्पतालका प्रमुख विशेषज्ञ चिकित्सक डा. सिजन रावलको सक्रिय पहलमा सामाजिक विकास मन्त्रालयको सहयोगमा प्राप्त भएको हो।

याे मेसिन जडानसँगै अब डोल्पाका सर्वसाधारणले मुटुको इको परीक्षण (Echocardiogram) सहित अन्य आवश्यक अल्ट्रासाउण्ड (USG) सेवाहरू अस्पतालमै प्राप्त गर्न सक्नेछन्। यसले पहिले अन्य जिल्ला वा शहर धाउनुपर्ने बाध्यताबाट राहत दिलाउने विश्वास गरिएको छ।

अस्पताल स्रोतका अनुसार निकट भविष्यमा ४डी (4D) सेवा पनि सञ्चालनमा ल्याइनेछ, जसअन्तर्गत गर्भवती आमाहरूले गर्भमा रहेको शिशुको अनुहार समेत हेर्न सक्ने सुविधा प्राप्त गर्नेछन्।

दुर्गम तथा पिछडिएको डोल्पा जिल्लामा यस्तो अत्याधुनिक प्रविधिको प्रवेशले आमनागरिकको स्वास्थ्यमा गुणात्मक सुधार ल्याउने विश्वास गरिएको छ। स्थानीय जनताले यस कार्यप्रति उत्साह व्यक्त गर्दै डा. रावल र अस्पताल व्यवस्थापनलाई धन्यवाद दिएका छन्।

तपाईको प्रतिक्रिया