ताजा समाचार

परीक्षाको मुखमा अभिभावक सहयोगको नाममा चर्को शुल्क असुल गर्दै सिम्ताको जीवन ज्योति मावि

पुर्ण सार्की/सुर्खेत।परीक्षाको समयमा कर्णालीका अधिकांश सामुदायिक विद्यालयले परीक्षा आउने दिन कुरेर विद्यार्थीहरूबाट मनोमानी तरिकाले पैसा उठाउने गरेका गुनासा प्रत्येक वर्ष सुनिन्छन् । तर गुनासा सुनिए पनि जिम्मेवार निकायहरू भने यस विषयमा कुनै पनि चासो देखाउँदैनन् । गत वर्ष केही विद्यालयले एसइई दिने विद्यार्थीहरूबाट ‘पास गराइदिने’ ‘व्यावहारिक नम्बर बढाइदिने’, ‘चिट चोराउने’ ‘सट्टामा बसाल्ने’ लगायतका विभिन्न बहानामा सामुदायिक विद्यालयले पैसा असुली गरेको गुनासा निकै आएका थिए ।

केही विद्यालयले असुल गरेका रकम फिर्ता गरे भने केहीले गुपचुप रूपमा मिलाए । यस पटक पनि सुर्खेतको सिम्ता गाउँपालिका–२ काफलकोट स्थित जीवन ज्योति माविले अभिभावक सहयोगको नाम दिएर परीक्षा दिने विद्यार्थीहरूबाट निकै चर्को शुल्क असुलेको पाइएको छ । विद्यालयले कक्षा ६ देखि १०सम्मका विद्यार्थीहरूबाट अभिभावक सहयोग शुल्क भन्दै चर्को शुल्क असुलेको विद्यार्थीका अभिभावकले गुनासो गरेका छन् ।

(बैजनाथ राष्ट्रिय दैनिकमा प्रकाशित समाचार)

विद्यालयले कक्षा ६ देखि १० कक्षाका प्रत्येक विद्यार्थीहरूबाट करिब १ हजार ५ सय रुपैयाँ लिने गरेको उनीहरूको दाबी छ । ‘अभिभावक सहयोग शुल्क भन्छन्, तर १५०० पैसा नदिने बेलासम्म प्रवेश पत्र दिँदैनन् ।’, एसइईका परीक्षार्थीले भने, ‘पैसा नदिऊँ परीक्षा दिन मिल्दैन दिऊँ भने १५०० पैसा तिर्न पनि निकै गाह्रो छ ।’ यस्तै अर्का एक परीक्षार्थीकी अभिभावकले ऋण निकालेर प्रवेश पत्रको १५०० रकम दिएको गुनासो गरिन् ।‘घरमा पैसा थिएन । सरलाई पछि दिन्छु अहिले छैन भन्दा उहाँले मान्नुभएन’, ‘नदिऊँ भने छोरीले वर्ष भरी पढेको पढाइको कुनै काम नहुने त्यही भएर ऋण निकालेर पनि १५०० बुझाए ।’ यी त केही उदाहरण पात्र मात्रै हामीसँग गुनासो गर्दै आएका हुन् । उक्त विद्यालयमा यस्ता कयौँ समस्या परेर पनि चर्को शुल्क तिर्न बाध्य भएका अभिभावक छन् । जीवन ज्योति माविमा अहिले करिब ३२ जनाले एसइई दिँदै छन् ।

ती सबै विद्यार्थीहरूबाट १५ सयका दरले सहयोग शुल्क भन्दै विद्यालयले बाध्यकारी बनाएर शुल्क उठाएको छ । विद्यालयले अभिभावक शुल्क भनेर रकम असुले पनि अभिभावकले बुझाएको रकमको भने कुनै पनि रसिद नदिएको अभिभावकको भनाइ छ । एसइईका विद्यार्थीहरूबाट शुल्क उठाएको सत्य भएको सोही विद्यालयमै कार्यरत एक शिक्षकले नाम उल्लेख नगर्ने सर्तमा बताए ।

उनले एक जना विद्यार्थीबाट १ हजार ५ सय रकम विद्यालयले लिएको जानकारी दिए । ‘विद्यालयले आन्तरिक स्रोत नहुँदा विद्यालयमा निकै समस्या भयो, त्यसैले एसइईका विद्यार्थीहरूबाट १५ सयका दरले रकम उठाएको छ ।,’ ती शिक्षकले खबरदृष्टिसँग भने, ‘अरू कक्षाका विद्यार्थीहरूबाट पनि केही रकम उठाए जस्तो लागेको छ ।तर कसले कति उठायो त्यति जानकारी भएन ।,’

उनले अभिभावक शुल्क भनेपनि विद्यालयले अभिभावकलाई बाध्यकारी बनाएर शुल्क लिने गरेको उनको भनाइ छ । ‘अभिभावक शुल्क भनेका छन्, अभिभावक शुल्क भनेको त खुसीले जति पनि दिन सक्छन् किन १५०० तोकियो,’ उनले भने, ‘फेरी पैसा नहुने अभिभावकका विद्यार्थीहरूलाई त प्रवेश पत्र दिनुपर्ने पैसा नबुझाएसम्म प्रवेश पत्र दिँदैनन् ।,’

यता विद्यालयका प्रधानाध्यापक हरि नारायण यादवले विद्यालयले अभिभावक शुल्क भन्दै कक्षा ६–१०सम्मका विद्यार्थीहरूबाट रकम लिएको स्वीकार गरे । उनले विद्यालय अहिले ऋणमा र आन्तरिक आम्दानी शून्य भएकाले आफूहरूले विद्यार्थीहरूबाट केही रकम उठाएको बताए । ‘हाम्रो विद्यालय अहिले ऋणमा छ । राष्ट्रपति रनिङ शिल्डमा जाँदा त्यही १ लाख बढी खर्च भयो ।,’उनले भने ‘आम्दानी भने विद्यालयमा शून्य छ आउने ठाउँ कहीँ भएन त्यसैले हामीले कक्षा ६–१० सम्मका विद्यार्थीहरूबाट ५ सय १ हजारका दरले रकम उठाएका हौँ ।,’ उनले थपे, ‘यदि कुनै सङ्घ संस्थाहरूबाट रकम आयो भने हामीले विद्यार्थीहरूबाट उठाएको रकम फिर्ता गर्छौ ।’

यस्तै सिम्ता गाउँपालिकाका शिक्षा शाखा प्रमुख बुद्धि बहादुर गौतमले विद्यालयले रकम लिएको जानकारी आफूले पाएको र फिर्ता गर्न तत्काल मौखिक निर्देशन दिएको बताए ।

‘मैले विद्यालयमा बुझेको थिए, विद्यालयले अभिभावक शुल्क भन्दै रकम उठाएको रहेछन् । त्यो नियम विपरीत हो ।,’ उनले खबरदृष्टिसँग भने, ‘मैले मौखिक रूपमा रकम फिर्ता गर्न भनेको छु उहाँहरू फिर्ता गर्नुहुन्छ होला ।,’

तपाईको प्रतिक्रिया