डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकामा अब नागरिकले राष्ट्रिय परिचयपत्रका लागि घरैबाट अनलाइन दर्ता सेवा पाउने भएका छन्।
स्वास्थ्य उपसंयोजक निमाधार्के गुरुङको नेतृत्वमा, आइटी सहायक सोनाम साङ्वो लामा तथा वडा प्रतिनिधि र कर्मचारीको टोलीले साल्दाङबाट अनलाइन सेवा सञ्चालन गरिरहेको पालिकाध्यक्ष धावा सम्दुक गुरुङले जानकारी दिनुभयो।
गाउँपालिकाले आवश्यक इन्टरनेट उपकरण र प्राविधिक खर्च आफैं व्यहोरेर जिल्ला प्रशासन कार्यालय डोल्पासँग समन्वयमा सेवा विस्तार गरिरहेको छ।
हाल वडा नं. १ देखि ४ सम्मका ५८४ जनाले सेवा लिइसकेका छन् भने वडा नं. ५, ६, ७ मा सेवा सञ्चालन भइरहेको छ। वडा ८ र ९ मा भने साइजोेलमा दर्ता शिविर सञ्चालनको तयारी भइरहेको अध्यक्ष गुरुङले बताउनुभयो।
सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि दुर्गम हिमाली क्षेत्रमा सेवा पुर्याउन स्थानीय तहहरू सक्रिय देखिएका छन्। करिब एक साताको पैदल दूरीमा पर्ने जिल्ला प्रशासन कार्यालय जानुपर्ने बाध्यता हटेसँगै स्थानीयवासी उत्साहित बनेका छन्।
जेष्ठ नागरिकका लागि झनै सहज भएको यो सेवा सामाजिक सुरक्षासँग जोडिएका सुविधामा पहुँच बढाउने अभियानका रूपमा लिइएको छ।

डोल्पा न्यूज । ६ श्रावण २०८२, मंगलवार १६:२९