विष्णुप्रसाद देवकोटा
डाेल्पा,२० साउन ।कर्णाली प्रदेशकाे हिमाली जिल्ला डाेल्पा र गण्डकी प्रदेशकाे राजधानी समेत रहेकाे कास्की जिल्लाबीच आपसी सहकार्य र सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता जनाइएको छ।
साेमबार कास्कीमा आयोजित विशेष स्वागत कार्यक्रममा सहभागी हुन मुक्तिनाथ तीर्थ यात्रा आएका जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्याम बहादुर रोकाय नेतृत्वकाे प्रतिनिधिमण्डललाई जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा पदाधिकारीहरूले औपचारिक स्वागत गरेका थिए।
कार्यक्रममा प्रमुख रोकायले कास्कीकाे मायालु स्वागत र आत्मीय आतिथ्यप्रति आभार व्यक्त गर्दै डोल्पा–कास्की सम्बन्धलाई अझ सुमधुर, सशक्त र दीर्घकालीन बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।
उनले पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, जडिबुटी संरक्षण तथा व्यवस्थापन, विपद् व्यवस्थापन, आर्थिक साझेदारी र स्थानीय तहबीचको समन्वय लगायतका क्षेत्रमा सहकार्यकाे विस्तृत सम्भावनाहरू रहेको उल्लेख गरे।
‘आपसी समझदारी र सहकार्यकाे माध्यमबाट दुबै जिल्लाले विकासकाे यात्रामा साझा पाइला चाल्न सक्छन्’, प्रमुख रोकायले भने, ‘यसका लागि हामी साझा प्राथमिकता निर्माण गर्दै अगाडि बढ्नेछाैं।’
कार्यक्रममा प्रमुख रोकायले कास्कीका प्रमुख तथा पदाधिकारीहरूलाई धन्यवाद दिँदै मायाको चिनो तथा हार्दिक सम्मानप्रति विशेष कृतज्ञता व्यक्त गरे।

डोल्पा न्यूज । २० श्रावण २०८२, मंगलवार ०१:०४