ताजा समाचार

विदेशी सपनाको पछाडि डोल्पा: अहिलेसम्म ४०६ जना रोजगारीका लागि पलायन

विष्णुप्रसाद देवकोटा

डोल्पा ।नेपालको भूगोलमै सबैभन्दा ठूलो जिल्ला डोल्पा अहिले रोजगारीकाे खोजीमा विदेश पलायन हुने युवाको संख्यामा तीव्र वृद्धि देखिएको छ। एकातिर जडिबुटी, कृषि र पर्यटनको सम्भावनाले भरिपूर्ण डोल्पा, अर्कोतिर अवसरको खडेरीले थिचिएको यथार्थ—दुई विपरित अनुहार बोकेको जिल्ला बनेको छ।

जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार डोल्पाबाट वैदेशिक रोजगारीको शिलशिलामा हालसम्म ४ सय ६ जनाले विदेशको बाटो समातेका छन्। तीमध्ये ३ सय ६३ जना पुरुष र ४३ जना महिला रहेका छन्।

प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतका अनुसार हरेक महिनामा दुई दर्जनभन्दा बढी व्यक्तिले राहदानी बनाउने गरेको तथ्यांकले विदेश पलायनको प्रवृत्ति बढ्दो रहेको देखाउँछ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा मात्र ५ सय १२ जना डोल्पालीले वैदेशिक रोजगारीका लागि विदेशिए पनि केही फर्किएपछि संख्यामा सामान्य गिरावट आएको हो।

महत्त्वपूर्ण कुरा के हो भने—यो संख्या बढ्दो आकाङ्क्षा र सीमित अवसरबीचको संघर्षलाई झल्काउने दर्पण हो।

वैदेशिक रोजगार विभागका अनुसार नेपालबाट हालसम्म ७८ लाखभन्दा बढी नागरिकहरू वैदेशिक रोजगारीमा गइसकेका छन्। दैनिक सरदर २,२०० जनाले विदेश जाने गरेकाले, डोल्पा जस्तो दुर्गम जिल्लाका युवाहरू पनि पछाडि छैनन्।

यद्यपि, विभागले सकेसम्म स्वदेशमै अवसर खोज्न सुझाउँछ। जानैपर्ने हो भने गन्तव्य, कम्पनी, कानुनी प्रक्रिया र सम्भावित जोखिमबारे सविस्तार जानकारी लिएर मात्र जान आग्रह गर्छ। यही उद्देश्यका लागि डोल्पा जिल्लाको ठुलीभेरी नगरपालिकामा ‘मनोसामाजिक परामर्श सेवा केन्द्र’ स्थापना भइसकेको छ भने अन्य स्थानीय तह पनि स्थापना प्रक्रियामा छन्।

प्रजिअ महत भन्छन्, “डोल्पा सम्भावनाको खानी हो। कृषि, पर्यटन र जडिबुटीमै रोजगारी सिर्जना गर्न सक्ने हो भने वैदेशिक पलायन रोकिन सक्छ।”

तपाईको प्रतिक्रिया