पुर्ण सार्की/सुर्खेत – कर्णालीमा वर्षेनी शैक्षिक सत्र सुरु भएको महिनौ पछि पाठ्यपुस्तक पुग्ने गर्छ। शैक्षिक सत्र शुरू भएको महिनौ पछि विद्यार्थीले नयाँ पाठ्य पुस्तक पढ्न पाउछन्। कतिपय ठाउँमा त पाठ्यपुस्तक नपुगेरै शैक्षिक शत्र सकिन्छ।
नयाँ शैक्षिक सुरु हुन हप्ता दिन बाँकी रहँदा वितरकको ढिलासुस्तीका कारण यतिबेला जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतको गोदाम भित्र हजारौंको सेटमा पाठ्यपुस्तक थन्किएका छन्। पुस्तक वितरकले चाहे यो वर्ष समयमै विद्यार्थीहरुको हातहातमा पाठ्यपुस्तक पुग्ने देखिन्छ। तर अहिले सम्म वितरकहरुले पुस्तक लिन खासै चासो भने देखाएका छैनन।
जनक शिक्षाले गत चैत्र १२ गते देखि कर्णालीका जिल्लाहरूमा पुस्तक बिक्रीवितरण गर्न शुरू गरी सकेको छ। केन्द्रले कर्णालीका दैलेख, सुर्खेत, मुगु, कालिकोट, जुम्ला, हुम्ला र जाजरकोटका केही क्षेत्रलाई लक्षित गरेर २५ हजार सेट पाठ्यपुस्तक सुर्खेत पुर्याएको थियो। पाठ्यपुस्तक पुर्याएर बिक्री वितरण गर्न सुरु गरेको २ हप्ता बढी विती सक्दा समेत सम्बन्धित निकायहरुले चासो नदिँदा करिब १७ हजार सेट बराबरको पाठ्यपुस्तक गोदाम भित्रै थन्किएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख भैरव बाबु पन्तले जानकारी दिए।
पन्तले समयअगावै कम्पनीमा सबै पाठ्यपुस्तक शाखामा आइपुगेको र सम्पुर्ण पुस्तक वितरकहरुलाई पाठ्यपुस्तक लगी विद्यार्थीहरूको पठन पाठनमा सहज बनाइदिन आग्रह समेत गरे।
प्रत्येक वर्ष जस्तै यो वर्षपनि वितरकको ढिलासुस्तीका कारण विद्यार्थीको सिकाईमा गम्भीर असर पार्ने सम्भावना देखिएको छ।
कुन जिल्लामा कति पुग्यो त पाठ्यपुस्तक?
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक शाखा सुर्खेतका अनुसार चैत्र १२ गते देखि हाल सम्म ८/९ हजार सेट बराबरको पाठ्यपुस्तक मात्रै बिक्रीवितरण भएको छ। जस मध्य दैलेखमा कक्षा ६ देखि १० सम्मका लागि १८०० सेट, सुर्खेतमा कक्षा ६ देखि १० कक्षा सम्मको लागि दुई हजार सेट र कक्षा ३ को लागि आठ सय सेट पाठ्यपुस्तक गएको छ। जाजरकोटमा कक्षा ६ देखि १० सम्मको लागि एक हजार सेट, कक्षा ५ को लागि ३ सय सेट, कालिकोटमा कक्षा ६ देखि १० सम्मको लागि २५ सय सेट, कक्षा ५ को लागि १ हजार सेट र ३ का लागि ४ सय सेट र जुम्लामा कक्षा ६-१० सम्मको लागि १ हजार सेट, कक्षा ५ को लागि ३/४ सय सेट पुस्तक गएको छ। हुम्लामा गत माघमै पाठ्यपुस्तक पुगको थियो भने मुगुमा भने अझै पनि पाठ्यपुस्तक लिनको लागि सम्पर्कमा नआएको शाखा प्रमुख पन्तले जानकारी दिए। पन्तका अनुसार १२ चैतदेखि वितरण प्रक्रियालाई सक्रिय पारिएको भए पनि लक्ष्यअनुसार बिक्री र वितरणले गति लिन नसकेको देखिन्छ।
केन्द्रले पुस्तकहरू वितरणको लागि लक्षित क्षेत्र पहिचान गरेर समयमै ढुवानीको प्रयास गरेको भए पनि विद्यालयस्तरमा समयमै माग नआउँदा र समन्वय अभावका कारण गोदाममै थन्किन पुगेको कम्पनीले जानकारी दिएको छ।
शैक्षिक सामग्री समयमै विद्यालयहरूमा नपुगेमा त्यसको असर विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष रूपमा पर्छ। सम्बन्धित विद्यालयका स्थानीय तह र शिक्षा शाखाबीच समन्वय अभावका कारण पनि पाठ्यपुस्तक वितरणमा ढिलाइ भइरहेको छ ।
कर्णालीका डोल्पा, रुकुम पश्चिम, सल्यान र जाजरकोटका केही क्षेत्रले भने नेपालगञ्ज देखि पुस्तक लैजाने गरेका छन् ।