पुर्ण सार्की/ सुर्खेत।संघीय सरकारका उप-प्रधान एबम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरता दिनको लागि अहिलेको सरकार अघि बढिरहेको बताएका छन।
आईतबार नेपाल प्रेस युनियन सुर्खेत शाखाले सुर्खेत विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा जनताको चाहना अनुसार संविधान संशोधन गर्दै दिगो र स्थायी सरकार निर्माण गर्नका लागि नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा आएको बताए।
दिगो सरकार चाहियो भन्ने जनचाहना अनुसार प्रमुख दुई दल मिलेर सरकार बनेको हो।’ उनले भने, अघिल्लो सरकारले ल्याएको बजेट कार्यान्वयन गरिरहेकाले सोचे अनुसार काम हुन नसकेको पनि स्वीकार गरे ।राजनीतिक स्थायित्व र दिगो सरकार निर्माणका लागि प्रमुख दुई दलबीच सहकार्य भएको बताएका छन्।
नेपाली कांग्रेसका नेता समेत रहेका सिंहले विधान र संविधानको परिधिभित्र रहेर पार्टी अधिवेशन हुने पनि स्पष्ट पारे । आफू अघिल्लो पटक पनि पार्टी सभापति उठिसकेकाले त्यो भन्दा तल आफ्ना लागि ठाउँ नभएको जिकिर उनको थियो।
आउँदो अधिवेशनमा पुनः सभापतिको उम्मेदवार बन्ने चाहना समेत रहेको उनको भनाइ थियो। उनले सरकारले ल्याएको अध्यादेश संसद बाट छिटै पारित हुने पनि जानकारी दिए।
पत्रकार सम्मेलनमा सञ्चारकर्मीले गरेको प्रश्न जवाफ दिँदै नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवन बहादुर शाहीले परी आएको खण्डमा सय प्रतिशत मात्रै न भै हजार प्रतिशत नै सिंह जी सभापतिको उम्मेदवार हुने र त्यही अनुसारको पार्टी भित्र लबिङ भइरहेको जानकारी दिए।