ताजा समाचार

स्थानीय तहमार्फत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट खर्च गर्ने तयारी

विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई नयाँ ढङ्गले अगाडि बढाउने तयारी गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१-८२ मा यो कार्यक्रमको बजेट बढाएर स्थानीय तहमार्फत खर्च गर्ने मन्त्रालयले जनाएको छ ।

चालु आव २०८०-८१ मा कार्यक्रम स्थगित गरेर छुट्याइएको बजेट जाजरकोट भूकम्पले क्षति पुर्‍याएका विद्यालयको पुनर्निर्माणमा खर्च गर्ने निर्णय पनि मन्त्रालयले गरेको छ ।

चालु आर्थिक वर्षमा रकम कम भएको तर आवेदक बढी भएकाले विद्यालय छनोट हुन सकेको थिएन । विद्यालयमा बजेट पठाउन ढिला भइसकेकाले पठाइएको बजेट फ्रिज हुने जोखिम पनि उत्तिकै थियो ।

यही कारण भूकम्पले क्षति पुगेका जाजरकोटका विद्यालय भवन पुनर्निर्माण गर्न बजेट खर्च गर्ने निर्णय भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार गत वर्ष छनोट भएका तर पैसा पठाउन नसकिएका ३१ विद्यालयलाई तोकिएको रकम पठाउने र बाँकी रकम जाजरकोटको भूकम्प प्रभावित विद्यालयलाई पठाउने निर्णय भएको हो ।

जाजरकोटमा भूकम्पका कारण क्षति पुगेका विद्यालयको पुनर्निर्माण लागि स्रोत कम भएकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको बजेट दिने निर्णय भएको छ ।

चालु आर्थिक वर्षमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको लागि १ अर्ब बजेट विनियोजन भएको छ । उक्त बजेटबाट ७४ विद्यालयलाई ४ कोठे भवन, ५ सय ९५ विद्यालयमा आइसिटी र १९ वटालाई प्राविधिक विद्यालय बनाउन बजेट प्रदान गर्ने सूचना जारी गरिएको थियो ।

तपाइको प्रतिक्रिया

error: Content is protected !!