पुर्ण सार्की/सुर्खेत : जाजरकोटमा गएराति ८ बजेर ७ मिनेटमा आएको भूकम्पको कारण त्रसित भइ घरबाट बाहिर निस्कने क्रममा तीन जना घाइते भएका छन्।जिल्लाको भेरी नगरपालिका–२ रिसाङका ओपेन्द्र कार्कीकी ४९ वर्षीया श्रीमती कमला कार्कीको छाती र दाहिने हातमा चोट लागेर घाइते भएकी हुन्। उनलाई जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचार पश्चात डिस्चार्ज गरिएको छ।
यस्तै, भेरी नगरपालिका–४ निवासी ३४ वर्षीय सुरेश श्रेष्ठको बाँया हातमा चोट लाग्दा जिल्ला अस्पतालमा चार टाँका लगाएर घर फर्काइएको छ।त्यसैगरी, नलगाड नगरपालिका–१२ का २२ वर्षीय बिरेन्द्र भण्डारीको दाहिने खुट्टामा सामान्य चोट लागेपछि स्थानीय मेडिकलमा उपचार गरी घर फर्किएका छन्।
जिल्ला अस्पताल स्रोतका अनुसार घाइतेहरुको अवस्था सामान्य रहेको छ। भूकम्पको थप विवरण भने आउन बाँकी रहेको जाजरकोट जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए।

शुक्रबार राति कुशे गाउँपालिका ९ पैंक आसपासमा दुई वटा भूकम्प गएको थियो। जसको महसूस जाजरकोट सहित कर्णालीका केही जिल्लामा समेत गरिएको थियो।
पहिलो ८ बजे ७ मिनेटमा ५.२ म्याग्निच्युडको र दोस्रो भूकम्प ८ बजेर १० मिनेटमा ५.५ म्याग्निच्युडको गएको भूकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख चिन्तन तिमलसिनाले जानकारी दिए । गत अघिल्लो वर्षको कात्तिक १७ गते गएको भूकम्पको केन्द्र विन्दु नजिकै अहिले भूकम्प गएको हो । प्रहरीले क्षतीको विवरण लिनका लागि सम्पर्क गरिरहेको जिल्ला प्रशासन कार्यालय ,जाजरकोटका प्रशासकीय अधिकृत समिर गौतमले जानकारी दिनुभयो ।

डोल्पा न्यूज । २३ चैत्र २०८१, शनिबार ०८:३६