डोल्पा,मङ्सिर ६ गते ।देउसी भैलो खेलेर उठेको रकमबाट बनभोज लगायतका कार्यक्रम गरेर रमाईलो गरी फजुल खर्च गर्ने हाम्रो परम्पारगात प्रबृति छ ।
डोल्पाका महिलाले भने यो परम्परालाई रुपान्तरण गर्दै देउसी भैलोबाट उठेको रकमलाई विकास निर्माण लगायत दैवीप्रकोप उद्दार कार्यमा सहयोग गर्दै आएका छन ।
यो वर्षको तिहारमा पनि डोल्पाका विभिन्न गाउँबस्ती र बजारका युवा संघसंस्था र महिला समुहहरुले देउसी भैलोखेलेर उठेको रकमबाट बनभोज लगायत मदिरा सेवन गरी अनावश्यक कार्यमा खर्च गरेको सामाजिक सन्जालमा देख्न सकिन्छ ।
तर त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका मनकारी महिलाले भने छिमेकी जिल्ला जाजरकोटका भूकम्प पीडितलाई आर्थिक सहयोग गरेका छन ।महिला समूह त्रिपुराकोटका महिलाहरुले देउसी भैलो खेलेर उठेको रकमबाट छिमेकी जिल्ला जाजरकोटका भूकम्प पीडितको लागि एकत्तिस हजार एक सय पाँच रुपिंया आर्थिक सहयोग गरेका हुन ।
महिला समूहमा ४४ जना सदस्य भएपनि गोमा उपाध्यायको नेतृत्वमा सोह्र महिलाले मात्र गाउँमा देउसी भैलो खेलेर उठेको रकम भूकम्प पीडितलाई सहयोग गरिएको महिला सदस्य भगवती न्यौपानेले जानकारी दिइन ।
एक कार्यक्रमका बीच नेपाल पत्रकार महासंघ डोल्पा शाखाका संस्थापक अध्यक्ष विष्णुप्रसाद देवकोटाले भूकम्प पीडितलाई बुझाउने गरी महिला समुह सदस्यहरुले नगद रकम संस्थापक अध्यक्ष देवकोटालाई हस्तान्तरण गरेका हुन ।
पत्रकार देवकोटाले जाजरकोट जिल्ला नलगाड नगरपालिकाको स्थानीय तथा प्रकोप ब्यवस्थापन कोषको खातामा मोवाइल बैकिङ्ग मार्फत रकम जम्मा गरेका थिए ।
देउसी भैलो संयोजक महिला समुह सदस्य गोमा उपाध्यायले आफुहरुले विगतमा देउसीभैलोबाट उठेको रकमले गाउँमा रहेका परम्परागत ढुङ्गेधारा मर्मत,धारापौवामा शौचालय निर्माण घोरेटो बाटो मर्मत तथा निर्माण धार्मिक मठमन्दिरमा गाउँबस्ती जिल्ला र देशबासाीका नाममा शान्ति पूजा लगायत श्रीबालात्रिपुरासुन्दरी मन्दिरमा तामाको ठूलो आरती थाली हस्तान्तरण गर्ने काम गरिएको बताईन ।
महिला समूहको देउसी भैलो कार्यक्रममा सहभागि भई सहयोग पुर्याएका समाजसेवी टिकादत्त न्यौपानेले त्रिपुराकोटका महिलाले विगतका वर्षमा पनि समाजिक कार्य गर्दै आएकोमा यो वर्ष छिमेकी जिल्लामा आएको दैविप्रकोप भूकम्प पीडितलाई थोरै भएपनि मानवीय सहयोग गरेर ठूलो धर्म कमाएको बताए ।
उनले भने देउसी भैलोलाई केहि समुह संस्था र ब्यक्तिहरुले फजुल खर्च गरी रहेको अवस्थामा त्रिपुराकोटका महिलाले गरेको सहयोगले उनीहरुलाई चोटिलो सन्देश दिएको छ ।