विष्णुप्रसाद देवकोटा
डाेल्पा, भदौ १६ गते।त्रिपुरासुन्दरी नगरपालिका–११ का स्थानीयवासीले राज्यको बजेट जनतासम्म नपुग्ने गरी मर्मतमै खेर जानु हुँदैन भन्दै, सडक मानवबस्ती छुँदै निर्माण गर्न माग गरेका छन्।
कर्णाली प्रदेश भौतिक तथा सहरी विकास मन्त्रालयबाट प्राप्त चार करोड रुपियाँ बजेट हुम गाउँमा पर्ने काब्रे हुँदै गाजिमेला भएर बन्तडि जोड्ने गरी प्रयोग गर्नुपर्ने उनीहरूको जोड छ। हाल मुहु हुँदै बन्तडि जोडिएको बाटो बस्ती नछुने मात्र नभई वर्षैभरि पहिरो जाने र भत्किने हुँदा दीर्घकालीन विकल्प नभएको स्थानीयहरूको गुनासो छ।
नगरपालिका कार्यपालिका सदस्य विशा पुनका अनुसार, काब्रे -गाजिमेला भएर जाने सडकको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) समेत भइसकेको छ। उनले भनिन्, “अब गाउँलेको मागअनुसार सडक निर्माण नगरे साबिकको बाटोलाई स्तरउन्नति वा मर्मतको नाममा ठेकेदारलाई पोस्ने खेल हुन दिने छैनौं।”
गाउँलेहरूले साउन २८ गते गाउँसभा गरेर “मागअनुसार सडक नबने सडक खन्नै नदिने” निर्णयसमेत गरेका छन्।
पुर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख ईन्जिनियर टेक हितानले समेत भौगोलिक हिसाबले हालको बाटो उपयुक्त नदेखिएको बताउँदै भने, “स्थानीयको मागअनुसार स्थलगत अवलोकन गरेर मात्रै टेन्डर प्रक्रियामा जानेछौं।” तर उनले नयाँ ट्र्याकले धेरै रुख मास्ने सम्भावना रहेको जानकारी पनि दिए।
गत आर्थिक वर्ष २०८१/८२ को बजेट स्थानीय अवरोधका कारण खर्चनै भएन ।उक्त सडक डोल्पाको सदरमुकाम दुनै हुँदै लिकु–मुहु–हुम–बन्तडि पार गरेर जुम्लासम्म जोडिने महत्वपूर्ण रणनीतिक मार्गका रूपमा रहेको छ।

डोल्पा न्यूज । १६ भाद्र २०८२, सोमबार १४:१५