विष्णुप्रसाद देवकोटा
डोल्पा, असोज १३ । वडादसैँ अर्थात् नवरात्रको आठौँ दिन डोल्पाको त्रिपुरासुन्दरी योगमाया भगवतीको मन्दिरमा फूलपातीको डोला धुमधामका साथ भित्र्याइएको छ।
सामान्यतया आश्विन शुक्ल सप्तमीका दिन विधिपूर्वक कालरात्रि देवीको पूजा गर्ने परम्परा रहेपनि यस वर्ष चौथी तिथि वृद्धि भई आठौँ दिनमा फूलपाती भित्र्याइएको हो। अपराह्नमा फूलपाती ल्याउने विधि भए पनि डोल्पाको त्रिपुराकोटस्थित श्रीबाला त्रिपुरासुन्दरी भगवती मन्दिरमा मध्याह्न पूजा आराधना पश्चात् साँझ मुलछरास्थित फूलपाती मन्दिरबाट डोला ल्याई कोटखोलामा पूजापाठ गरी मुल मन्दिरमा भित्र्याउने प्रचलन रहिआएको छ।
नेपालकै प्रमुख शक्तिपीठ तथा नवदुर्गा भगवतीको उद्गम स्थल मानिने श्रीबाला त्रिपुरासुन्दरी मन्दिरमा फूलपाती डोला पञ्चे बाजागाजासहित भव्य रूपमा ल्याइन्छ। यस अघि लिकु, दापु, पहाडा रंग र रुमलगायत गाउँका फूलवारीमा भगवतीको नाममा उमारिएका फूल, स्याउ, कांग्राजस्ता फलफूल संकलन गरी फूलपाती मन्दिरमा जाग्राम बसेर फूलमाला गाँस्ने परम्परा रहेको छ।
फूलपाती डोलालाई कोटखोलो मन्दिरमा पूजापाठ गर्दा नेपाल प्रहरीले सलामी दिने परम्परा पनि रहिआएको छ। मन्दिरमा फूलपाती भित्र्याएसँगै घरघरमा राखिएको जमरा थलोमा मार्सी, मकै, तिल, विभिन्न रंगका फूलहरुका साथै फर्सी र धानको बाला मिसाएर फूलपाती स्थापनाको विधि पुरा गरिन्छ।


डोल्पा न्यूज । १३ आश्विन २०८२, सोमबार १८:५०