विष्णुप्रसाद देवकोटा
डाेल्पा, २६, फोक्सुण्डो । नेपालको सबैभन्दा गहिरो र कञ्चन ताल फोक्सुण्डोमा अब उज्यालोको युग सुरु भएको छ। कादुरी नामक संस्थाले १७ करोड ३२ लाख रुपैयाँ लागतमा ३ वर्षको मेहनतपछि निर्माण गरेको ७० किलोवाट क्षमताको ‘फोक्सुण्डो लघु जलविद्युत आयोजना’ सोमबार औपचारिक रूपमा स्थानीय सरकारलाई हस्तान्तरण गरिएको हो।
फोक्सुण्डोको किनारमा आयोजित कार्यक्रममा कादुरी संस्थाका प्रमुख प्राविधिक डा. नारायण गुरुङ्गले शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङ्ग, वडा नं. ८ का अध्यक्ष निमा लामा र बिजुली उपभोक्ता समितिलाई संयुक्त रूपमा आयोजना हस्तान्तरण गरे।
यो आयोजनाबाट वडा नं. ८ रिग्मो गाउँसहितका १२० घरधुरी करीब १,००० भन्दा बढी जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन्। फोक्सुण्डो तालबाट निस्कने पानीको प्रयोग गरेर उत्पादन गरिएको यो बिजुलीले स्थानीय बासिन्दा मात्र नभई तालमा पुग्ने पर्यटकलाई पनि अझ सहज र आनन्दपूर्ण अनुभव दिलाउने अपेक्षा गरिएको छ। अब पर्यटकका लागि मोबाइल चार्ज गर्ने समस्या समाप्त हुनेछ भने बासिन्दाले वर्षभर स्थायी उज्यालोको अनुभव गर्नेछन्।
अध्यक्ष धावा सम्डुक गुरुङ्गले कादुरी संस्थाप्रति गहिरो आभार व्यक्त गर्दै भने, “हाम्रो गाउँपालिकाको विकासमा यस्तो योगदानका लागि धन्यवाद मात्र पर्याप्त छैन। कादुरी संस्था नेपालको निर्माण क्षेत्रमा अब्बल उदाहरण बनेको छ।”
नेपाली ब्रिटिस सैनिकहरूको संस्थाका रूपमा परिचित कादुरीले यसअघि डोल्पाको जगदुल्लामा ५० किलोवाट क्षमताको बिजुली आयोजना निर्माण गरी हस्तान्तरण गरेको थियो। साथै, यस संस्थाले पुल निर्माणदेखि खानेपानीसम्मका परियोजनामा त्रिपुरासुन्दरी, जगदुल्ला, शे–फोक्सुण्डो र छार्काताङसोङ गाउँपालिकामा महत्वपूर्ण योगदान पुर्याएको छ।

डोल्पा न्यूज । २६ श्रावण २०८२, सोमबार १७:४७