पुर्ण सार्की/ डोल्पा: कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एबम् नेकपा माओबादी केन्द्र संसदीय दलका नेत राज कुमार शर्माले जनप्रतिनिधि जनताको कामदार भएको बताएका छन्।
बुधबार नेकपा माओवादी केन्द्र ठूली भेरी नगर कमिटीको तेश्रो नगर अधिवेशनमा पूर्व मुख्यमन्त्री शर्माले संवोधनका क्रममा ठूलीभेरीलाई विगतमा अन्य पार्टीहरूको ‘हब’ मानिँदै आएको भए तापनि अबको नेतृत्व माओवादी केन्द्रले गर्ने विश्वास व्यक्त गरे। उनले विभिन्न दलहरूबाट असन्तुष्ट भई माओवादीमा प्रवेश गर्नेहरूप्रति धन्यवाद ज्ञापन गर्दै भने, “देशैभरि माओवादीप्रति जनआस्था बढ्दो क्रममा छ। पहिलो चरणमा तराई, दोस्रोमा पहाड, र तेस्रो चरणमा हिमाली क्षेत्रमा संगठन विस्तारको अभियान चल्नेछ।”
शर्माले सामाजिक विभेदहरू अझै पनि बाँकी रहेको उल्लेख गर्दै सशक्त जनचेतनाको विकास आवश्यक रहेगको बताए। “बजेट कसैले चाबी लगाएर ल्याएको होइन, जनताले बगाएको पसिनाबाट आएको हो,” उनले भने, “जनताले काम गरिदिन्छ भन्ने आशामा भोट हाल्छन्। जनप्रतिनिधि भनेको जनताको कामदार हो, मालिक जनता स्वयं हुन्।”
उनले जनप्रतिनिधिहरूको काम जनताले मूल्यांकन गर्नुपर्ने बताउँदै जनस्तरमा चेतनाको आवश्यकता औंल्याए। आफू मुख्यमन्त्री हुँदाको समयमा डोल्पालाई विशेष प्राथमिकतामा राखिएको जानकारी पनि शर्माले दिए।
शर्माले दलित, महिला र सीमान्तकृत वर्गहरूको वर्तमान स्थिति विगतको तुलनामा निकै परिवर्तन भएको उल्लेख गर्दै माओवादी आन्दोलनको योगदान अपरिहार्य रहेको धारणा राखे। उनले विगतका जनआन्दोलनहरूको स्मरण गर्दै ती आन्दोलनहरूले पुरानो संरचनात्मक व्यवस्थाको अन्त्यमा महत्वपूर्ण भूमिका खेलेको बताए।
कार्यक्रममा स्थानीय नेताहरू, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। अधिवेशनले संगठन विस्तार, स्थानीय विकास र सामाजिक न्यायका सवालमा आगामी रणनीति तय गर्ने अपेक्षा गरिएको छ।