२७५ सदस्यीय प्रतिनिधिसभामा कुनै एक दलको प्रष्ट बहुमत छैन । पहिलो दल कांग्रेस र दोस्रो एमाले मिल्नुबाहेक अरु दललाई बहुमत जुटाउन सकस र अप्ठ्यारो छ ।
पहिलो र दोस्रो दल मिल्न नसक्दा ३२ सिटको माओवादीले १५ महिनादेखि सरकार चलाइरहेको छ । ‘हंग पार्लियामेन्ट’को अप्ठ्यारो गणितबीच ३२ सिटको माओवादी मात्रै होइन २१ सिटको रास्वपादेखि १० सिटको नेकपा एससम्मले सरकारमा दाबेदारी गरिरहेका छन् ।
उनीहरूको दाबी बलियोसमेत छ । पछिल्लो पटक प्रचण्ड–ओलीले माधव नेपाललाई समेत प्रधानमन्त्री बनाउने समझदारी गरिएको दाबी छ । सरकारलाई १५७ सांसदको समर्थन भए पनि अझै अस्थिर छ । किनभने रास्वपा(२१)ले समर्थन फिर्ता लिनेवित्तिकै सरकार संकटमा पर्ने निश्चित छ ।
रास्वपा बाहिरिनेवित्तिकै फेरि अर्को समीकरण बन्न सक्छ । सत्ता साझेदार एकीकृत समाजवादीले सरकारबाट बाहिरिने चेतावनी दिइसकेको छ ।
प्रधानमन्त्रीले गृहमन्त्रीलाई विश्वासमा लिने प्रयास गरेका छन् । तर, कांग्रेसले गृहमन्त्रीमाथि नै गम्भीर प्रश्न उठाइरहेको छ ।संसद्मा पनि कांग्रेस गृहमन्त्री लामिछानेविरुद्ध खरोरूपमा उत्रिएको छ । प्रतिनिधिसभामा कांग्रेस सांसद बद्री पाण्डेले सहकारी ठगी प्रकरणमा अनुसन्धानको दायरामा आएका रविलाई किन गृहमन्त्री बनाइयो भन्दै प्रश्न गरेका थिए ।
‘उहाँले विस्तार गरेको मन्त्रिपरिषद्मा उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारी अनुसन्धानको दायरमा रहेका व्यक्तिलाई सुम्पिएपछि उहाँको विश्वास धुजाधुजा भएको छ ।’
आफ्नो पेट काटेर थोरै रकम बचन गरेका पौने करोड नागरिकको पसिनाको कमाइ केही ठगले कुम्ल्याइरहँदा स्वार्थ बाझिने काम गर्न नहुनेसमेत उनले बताए ।
‘यस्तो बेला अनुसन्धानको कमाण्ड सम्हाल्नुपर्ने निकायको कमाण्डर गृहमन्त्री नै अनुसन्धानको दायरामा हुनुले एकातिर गम्भीर नैतिक प्रश्न खडा भएको छ भने अर्कोतिर अनुसन्धान नै प्रभावित हुने आशंका बढाएको छ,’ पाण्डेले गम्भीर सवाल उठाउँदै भने, ‘सहकारीको आदर्श विपरीत गर्न नहुने संस्थामा लगानी दिन हुने शीर्षकमा कर्जा सेयर सदस्य नभएका व्यक्तिले पाउनै नपर्ने ऋण प्रवाहको सघन आरोपबाट घेरिएका गृहमन्त्रीले यस्तै प्रकृतिका अन्य दोषीलाई कसरी कानुनी कारवाहीको दायरामा ल्याउनुहुन्छ ?’
तर, कांग्रेस सहमहामन्त्री यादव भने रास्वपासँग मिलेर जानेबारे छलफल नभएको बताउँछन् ।
प्रजातन्त्रवादी शक्तिबीच भने छलफल भइरहेको उनले बताए । ‘शेरबहादुर देउवा बुझेको नेता हुनुहुन्छ । उहाँको पछाडि हामी छौं । आवेगमा कसैलाई प्रस्ताव हुँदैन,’ यादवले भने, ‘प्रचण्डले धोका दिएपछि प्रजातान्त्रिक दलबीच एउटा वातावरण बनाएर जानेबारे छलफल भएको हो ।’
अहिलेको सरकार बढीमा ६ महिना बढी नजाने उनको दाबी छ । ‘संसद्मा केपी ओलीको कटाक्ष, एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेको भनाइले पनि यो सरकार ६ महिनाभन्दा बढी जाँदैन भन्ने प्रस्ट्याएको छ,’ यादवले भने, ‘यो सरकार आफ्नै कारण केही समयमा ढल्छ ।’