नेकपा (माओवादी केन्द्र)सँगको गठबन्धन तोडेर सरकारको नेतृत्व गर्न कांग्रेसले गरेको प्रस्ताव नेकपा एमालेले अस्वीकार गरेको छ ।
माओवादीले आफूसँगको गठबन्धन तोडेपछि कांग्रेसले नयाँ बनेको गठबन्धन तुहाउने प्रयास स्वरूप एमालेलाई सरकारको नेतृत्व लिन प्रस्ताव गरेको थियो ।
फागुन २० मा एमाले–माओवादीसहितको नयाँ समीकरण बन्ने निश्चित भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले मध्यरातमा एमाले अध्यक्ष ओलीकोमा दूत पठाएर मिल्न प्रस्ताव गरेका थिए ।
नयाँ समीकरण बनेदेखि नै यसलाई तुहाउन कांग्रेस नेताहरू सक्रिय भएर लागेका छन् ।
नयाँ समीकरण बनाउने बेला आफूलाई थाहा नदिइएको भनेर असन्तुष्ट नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई फकाउन कांग्रेस सभापति शेरबहादुर देउवा बुधवार बिहान उनको निवास पुगेका थिए ।
त्यहाँ पुगेर देउवाले माधव नेपाललाई सरकारको नेतृत्व गर्न प्रस्ताव गरेका स्रोतले बतायो ।
प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको कांग्रेस विश्वासको मत लिने बेला बहुमत पुर्याउन नदिने रणनीतिमा लागेको छ ।
माओवादी–एमालेसहितको गठबन्धन भत्काउने प्रयास स्वरूप कांग्रेसले रास्वपालाई समेत सरकारको नेतृत्व गर्नका लागि प्रस्ताव गरेको चर्चा भएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ मा कांग्रेससँगको गठबन्धन तोड्दै नेकपा एमालेसँग सहकार्यको निर्णय गरेका थिए ।
सोही दिन प्रचण्डले कांग्रेसका मन्त्रीलाई हटाएर मन्त्रिमण्डल पुनर्गठन गरेका थिए ।