ताजा समाचार

५३ करोडको बजेटसहित ठुलीभेरी नगरसभाको भव्य समापन, नीति तथा कार्यक्रम पनि पारित

विष्णुप्रसाद देवकोटा 

डोल्पा, असार ७ गते । डोल्पा सदरमुकामस्थित ठुलीभेरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५३ करोड २३ लाख ७९ हजार रुपैयाँको बजेट सार्वजनिक गर्दै नगरसभा भव्यरूपमा सम्पन्न गरेको छ।

नगरपालिकाको जुफालस्थित सभाहलमा आयोजित १५औं नगरसभा नगरप्रमुख स्वर्णकुमार बुढाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत डिलप्रसाद रोकायाले आगामी आर्थिक वर्षका बजेट विवरण, नीति तथा कार्यक्रम र विनियोजन विधेयक प्रस्तुत गर्नुभएको थियो।

प्रस्तुत बजेटअनुसार चालुतर्फ ३९ करोड ८६ लाख ७४ हजार र पूँजिगततर्फ १३ करोड ३७ लाख ५ हजार विनियोजन गरिएको छ। संघीय सरकारबाट ९ करोड ६४ लाख बराबरको वित्तीय समानीकरण अनुदान र २२ करोड ३४ लाख सशर्त अनुदान प्राप्त हुने अनुमान गरिएको छ। त्यस्तै, प्रदेश सरकारबाट १ करोड ८ लाख रुपैयाँ समानीकरण अनुदान, ३ करोड १५ लाख सशर्त विशेष अनुदान तथा २ करोड ७५ लाख समपूरक अनुदान प्राप्त हुने जनाइएको छ।

आन्तरिक स्रोतबाट १ करोड आम्दानी हुने अपेक्षा गरिएको छ। नगरसभामा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम, आर्थिक विनियोजन विधेयकसहित अन्य महत्वपूर्ण विधेयकहरू पनि बहुमतले पारित गरिएको थियो।

नगरप्रमुख बुढाको संयोजनमा सम्पन्न नगरसभा जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवाला सबैको उत्साहजनक सहभागिताका साथ भव्य रुपमा सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया