ताजा समाचार

वडाअध्यक्षको एकल निर्णयको विरोधमा वडा कार्यालयमा तालाबन्दी

डोल्पा ।त्रिपुरासुन्दरी नगरपालिका-११ स्थित वडा कार्यालयमा वडाध्यक्ष चन्द्ररुप डसालको एकल निर्णयको विरोधमा स्थानीयवासीले तालाबन्दी गरेका छन्।

वडा बजेट तथा कार्यक्रम छनोटमा अध्यक्ष डसालले मनपरी शैली अपनाएको भन्दै नेकपा एमाले समर्थक वडा सदस्य विषा पुन, गाउँका मुखिया राजबहादुर पुनसहित स्थानीयको उपस्थितिमा कार्यालयमा तालाबन्दी गरिएको हो।

नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष डसालले केही वडासदस्यहरूलाई मात्र विश्वासमा लिएर आफ्नो मर्जीअनुसार बजेट विनियोजन तथा योजना छनोट गरेको असन्तुष्टि जनाइएको छ।

वडासदस्य तथा स्थानीयहरूका अनुसार बजेट तथा कार्यक्रम छनोट निर्णय नसच्याइएसम्म ताला नखुल्ने स्पष्ट चेतावनी दिइएको छ।

स्थानीय किस्मत शाहीका अनुसार, “वडाध्यक्षको एकल निर्णयले केही व्यक्तिलाई मात्रै लाभ पुग्ने गरी योजना बनाइएको छ। यसले धेरैजनाको अपेक्षा र आवश्यकता बेवास्ता गरिएको छ, त्यसैले हामीले तालाबन्दी गर्नुपरेको हो।”

योजना निर्माण र बजेट प्रक्रियामा सबै सरोकारवालाको सहभागिता सुनिश्चित गर्नुपर्ने माग गर्दै स्थानीयहरूले वडालाई पारदर्शी र सहभागीमूलक ढंगले काम गर्न दबाव दिएका छन्।

तर, वडाध्यक्ष चन्द्ररुप डसालले भने लगाइएको आरोप अस्वीकार गरेका छन्। उनले भने, “म सार्वजनिक हित र समावेशी विकासका आधारमा योजना छान्दै आएको छु। सबै वडासदस्यहरूलाई जानकारी दिइएको थियो, तर राजनीतिक पूर्वाग्रहले गलत प्रचार भइरहेको छ।”

उनले स्थानीय जनप्रतिनिधिहरूमाथि गलत आरोप लगाएर विकासलाई अवरुद्ध गर्ने कार्य उचित नभएको बताउँदै समस्या संवादबाट समाधान गर्न आफू तयार रहेको स्पष्ट पारेका छन्।

तपाईको प्रतिक्रिया