विष्णुप्रसाद देवकोटा
डाेल्पा — ठुलीभेरी नगरपालिका डोल्पाको अगुवाइमा बुधबार सदरमुकाम दुनै बजारमा व्यापक अनुगमन गरिएको छ। नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक छिरिङ टोल्मा महतको नेतृत्वमा गरिएको अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत डिलप्रसाद रोकाया, वडा नं. ३ का अध्यक्ष भक्तबहादुर भण्डारी, वडा सचिव मानबहादुर खड्का, उद्योग वाणिज्य संघ डोल्पाका अध्यक्ष लालिमान बुढा, नागरिक समाज अध्यक्ष शेरबहादुर बुढा, उपभोक्ता हित संरक्षण प्रतिनिधि कल्पना शाही, पत्रकार तथा सुरक्षाकर्मीको सहभागिता रहेको थियो।
अनुगमनका क्रममा दुनै बजारस्थित होटल, पसल, मेडिकल, फ्रेस हाउस लगायतका व्यावसायिक संस्थाबाट रु २३ हजारभन्दा बढी मूल्यका अखाद्य वस्तु तथा म्याद गुज्रेका सामान जफत गरी नष्ट गरिएको हो। जेठ ५ गतेदेखि डोल्पाका यार्सा पाटनहरू खुल्दै जान लागेकाले बढ्दो व्यापारिक चापलाई मध्यनजर गर्दै अनुगमन तीव्र पारिएको नगरपालिकाले जनाएको छ।
प्रमुख प्रशासकीय अधिकृत रोकायाका अनुसार उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै अनुगमनलाई सशक्त बनाइएको हो। “बजारमा क्रमिक सुधार देखिँदैछ,” उनले भने, “व्यवसायीहरूलाई म्याद गुज्रेका वस्तु नबेच्न, मूल्यसूची टाँस्न, व्यवसाय दर्ता गर्न र नगरपालिकामा सूचिकृत हुन निर्देशन दिइएको छ।”
नगरपालिकामा दर्ता तथा कर तिर्ने प्रक्रियामा चुकेका व्यवसायीहरूलाई एक साताभित्र सम्पूर्ण प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ। “उपभोक्ताले कर तिर्ने मात्र होइन, त्यसबापत सेवा सुविधा पाउने अधिकार पनि हुन्छ,” रोकायाले थपे।
केही वर्षदेखि दुनै र जुफाल बजारमा ट्याक्टरमार्फत फोहोर संकलन गर्दै आएको नगरपालिकाले सेवा वापतको कर नतिर्ने व्यवसायीप्रति कडाइ गर्न लागेको छ।
नगरपालिकाले यस्ता अनुगमनलाई नियमित र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।

डोल्पा न्यूज । ३१ बैशाख २०८२, बुधबार २१:५३