पुर्ण सार्की/ डोल्पा न्युज। सुर्खेतमा भोलि देखि तीन दिने फोटो प्रदर्शनी हुने भएको छ । नेपाल पिक्चर लाइब्रेरीको आयोजनामा ‘सार्वजनिक जीवनमा महिलाः महिलावादी स्मृतिको एक पहल’ शीर्षकमा भोलि देखि फोटो प्रदर्शन हुन लागेको हो ।प्रदर्शनीको देशव्यापी यात्रा अन्तर्गत फागुन २६, २७ र २८ गते कर्णालीको राजधानी सुर्खेतको वीरेन्द्रनगर स्थित घण्टा घर पार्कमा प्रदर्शनी राखिएको छ । पहिलो चरणमा वीरगंज र जनकपुरको सफलतापछि दोस्रो चरणमा सुर्खेत र नेपालगन्जमा प्रदर्शनी गर्न लागिएको जनाइएको छ ।
दृश्य अभिलेख, मौखिक इतिहास र सामुदायिक संलग्नतामार्फत् नेपालको महिलावादी इतिहासलाई संरक्षण र प्रसार गर्ने उद्देश्यले फोटो प्रदर्शन यात्रा थालिएको हो ।
यो प्रदर्शनीले नेपालका महिलाहरूको सार्वजनिक जीवनमा रहेको योगदानलाई उजागर गर्दै नेपाली समाजमा उनीहरूको ऐतिहासिक महत्वलाई स्थापित गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
फोटो प्रर्दशनी पुर्व सन्ध्यामा नेपाल पिक्चर लाइब्रेरीले आईतबार बिहान आवाज नेपालको हलमा पत्रकार सम्मेलन समेत गरेको थियो। पत्रकार सम्मेलन मार्फत आयोजक टिमले फोटो प्रदर्शनीको सम्पुर्ण तयारी पुरा भैसकेको जानकारी समेत गराएको थियो।
कर्णाली आट्र्स सेन्टरसँगको साझेदारीमा हुन लागेको प्रदर्शनी वीरेन्द्रनगरको घण्टाघरमा हुनेछ । विहान १० बजेदेखि साँझ ५ बजेसम्म प्रदर्शनी सञ्चालन हुने आयोजक नेपाल पिक्चर लाइब्रेरीले जनाएको छ । प्रदर्शनी खुला र निःशुल्क हुनेछ ।