रामचन्द्र न्याैपाने
डोल्पा — ३८ वर्षपछि डोल्पामा पहिलोपटक लागू गरिएको साना किसान कृषि सहकारी संस्थामा कृषकहरुको सहभागिता उल्लेखनीय रुपमा बढिरहेको छ। त्रिपुरासुन्दरी नगरपालिका र ठुलिभेरी नगरपालिकामा एक वर्षअघि सुरु भएको कार्यक्रमअन्तर्गत हालसम्म करिब सात सय किसान सहकारीमा आवद्ध भइसकेका छन्।
जिल्ला कार्यक्रम संयोजक गंगा प्रसाद पंगालीका अनुसार त्रिपुरासुन्दरी नगरपालिकामा ७५ वटा समूहमार्फत ४०० जना र ठुलिभेरीमा ६६ समूहबाट ३०० जना कृषक सहकारीमा आबद्ध भएका छन्।
“यो नेपाल सरकारसँग जोडिएको कार्यक्रम हो,” पंगालीले बताए, “अन्य जिल्लामा वर्षौंअघि सुरु भए पनि डोल्पामा यो कार्यक्रम ३८ वर्षपछि मात्र लागू भएको हो। उद्देश्य किसानलाई आत्मनिर्भर बनाउँदै सहुलियतपूर्ण कर्जा प्रवाह गर्नु हो।”
दुवै नगरपालिकाका विकट बस्तीमा समूह बनाएर बचत संकलन सुरु गरिएकाले निकट भविष्यमा सहकारीलाई साना किसान बैंकमा रूपान्तरण गरी सुलभ कर्जा प्रदान गर्ने योजना रहेको छ।
तर, विगतमा केही पुराना सहकारीले जनताको बचत डुबाएपछि सहकारीप्रति जनस्तरमा नकारात्मक धारणा रहेको उपाध्यक्ष ज्ञान बहादुर बुढाले बताए। “सहकारीप्रति जनप्रतिनिधि नै अनविज्ञ हुँदा विस्तारमा चुनौती आएको छ,” उनले भने।
देशका अन्य जिल्लामा स्थानीय तहले कृषकलाई सहकारीसँग जोड्न बजेट छुट्याए पनि डोल्पामा भने त्यो सहयोग नपाइएको भन्दै बुढाले गुनासो गरे।
बि.सं. २०३२ मा स्थापना भएको साना किसान कृषि सहकारीले विभिन्न शाखाहरुमार्फत सदस्यलाई मासु, दूध, व्यापार र उत्पादनमा न्यून ब्याजदरमा कर्जा दिँदै आएको छ। डोल्पामा पनि यो अभ्यास प्रभावकारी रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।