ताजा समाचार

कर्णालीमा ३५ आयोजना अलपत्र, तोकेको मितिमा नसकाए ठेक्का रद्द:मुख्यमन्त्री कँडेल

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणमा भइरहेको ढिलाइप्रति गम्भीर चासो जनाउँदै अलपत्र ३५ आयोजना तोकिएको समयमै सम्पन्न गर्न कडा निर्देशन दिएका छन्।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गत १० वटै जिल्लाका निर्माण व्यवसायी र कार्यालय प्रमुखलाई छलफलमा बोलाएर मुख्यमन्त्री कँडेलले समयसीमा निर्धारणसहित काम अघि बढाउन निर्देशन दिएका हुन्।

बजेट र साधनस्रोत उपलब्ध हुँदाहुँदै आयोजना अलपत्र पार्ने निर्माण कम्पनीको ठेक्का रद्द गरिने नीति अवलम्बन गरिने उनको चेतावनी छ। समयमै काम नगर्ने निर्माण व्यवसायी निगरानीमा राखिने र कानुनी कारबाही प्रक्रिया अघि बढाइने समेत उनले बताएका छन्।

माथिल्लो डुङ्गेश्वर–दुल्लु–बेहुली–कालीकोट सडक, साङ्गेताडा विन्द्रासैनी–चामुण्डा सडक, त्रिवेणी–नर्कु–इल सडक, नौमुले–विरुवा, सिद्धान्त–शृङ्गेश्वर, तल्लो करेली पक्की पुल, कुइने–जामु–बाबियाचौर–भक्तरी, घाटगाउँ–गटु–सालम–कोरलाबास–कुल्लीमोर लगायतका आयोजनाहरू तोकिएको म्यादभित्र सम्पन्न गर्न भनिएको छ।

प्रदेश राजधानी वीरेन्द्रनगर प्लानिङ क्षेत्रभित्रका सहरी सडक पनि प्राथमिकतामा राखिएको छ। बड्डीचौर–ब्युरेनी–बाबियाचौर–विद्यापुर सडक र प्याकेज–१ अन्तर्गतको कुइने–जामु–बाबियाचौर आयोजना तत्कालै सम्पन्न गर्न निर्देशन दिइएको छ।

मुख्यमन्त्री कँडेलले स्वयम् स्थलगत अनुगमन गर्ने र ढिलाइ गर्ने निकायलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्। विकास खर्च बढाउन पूर्वाधार निर्माणमा जोड दिइएको भन्दै सरकारले योजनाबद्ध रूपमा आयोजना कार्यान्वयन अघि बढाइरहेको छ।

तपाईको प्रतिक्रिया