डोल्पा — हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१, त्रिपुराकोट स्वास्थ्य चौकीमा वैशाख २१ गतेदेखि सुरु भएको संयुक्त स्वास्थ्य शिविरमा फिस्टुला, कुष्ठरोग र प्रजनन रुग्णता जस्ता संवेदनशील तथा दीर्घकालीन रोगहरूको निःशुल्क स्वास्थ्य सेवा प्रदान भइरहेको छ।
त्रिपुरासुन्दरी नगरपालिकाको आयोजनामा जिल्ला जनस्वास्थ्य सेवा कार्यालयको समन्वय, प्लान इन्टरनेशनल नेपाल र जर्मन कोर्पोरेशनको सहयोगमा सञ्चालन भइरहेको शिविरमा साइनिङ नेपाल र आइएनएफ नेपाल (INF Nepal) सुर्खेतको प्राविधिक सहयोग प्राप्त भएको छ।
स्वास्थ्य चौकी लिकुका जनस्वास्थ्य निरिक्षक तुलबहादुर श्रेष्ठका अनुसार, शिविरमा विशेषगरी महिलामा देखिने प्रसवपश्चातको फिस्टुला, कुष्ठरोगजस्ता छालासम्बन्धी जटिल रोग तथा लामो समयदेखि सन्तान नभएकाहरूमाझ प्रजनन समस्या समाधानमा केन्द्रित सेवा दिइँदैछ।
शिविरमा जिल्ला अस्पताल दुनैका डाक्टर भीमबहादुर बुढा र आइएनएफ सुर्खेतका डाक्टर सुभक्षा देवा श्रेष्ठ नेतृत्वको स्वास्थ्य टोलीले बिरामीहरूको परीक्षण र परामर्श दिइरहेका छन्।
दुरदराज र दुर्गम बस्तीहरूबाट स्वास्थ्य सेवा लिन कठिन हुने डोल्पाबासीका लागि यस्तो शिविरले गुणस्तरीय सेवा पुर्याउने विश्वास स्थानीयवासीले व्यक्त गरेका छन्।

डोल्पा न्यूज । २३ बैशाख २०८२, मंगलवार १२:३५