विष्णुप्रसाद देवकोटा
डोल्पा ।हालैको जेन्जी आन्दोलनपश्चात् आन्दोलनका मागहरूलाई तोडमोड गरी भ्रम फैलाउने गतिविधिप्रति आपत्ति जनाउँदै युवा कम्युनिस्ट लिग (वाइसीएल) नेपाल, जिल्ला समिति डोल्पाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्रमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेले सामाजिक सञ्जाल र मिडियामार्फत नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध “घर जलाइँदाअघि दुई ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाइयो” भन्ने भ्रामक प्रचार गरेको उल्लेख छ।
वाइसीएलले उक्त आरोपलाई पूर्णरूपमा झूठा, तथ्यहीन र राजनीतिक प्रतिशोधका कारण लगाइएको दाबी गर्दै सम्बन्धित व्यक्तिहरूमाथि तत्काल छानबिन गरी कानूनी कारबाही गर्न माग गरेको वाईसीएल डाेल्पाका अध्यक्ष देविसर बुढाद्वारा प्रजिअ भिमराज काेइरालालाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ।
पार्टी संयोजकको सचिवालयले यसअघि नै मिति २०८२ असोज २७ गते नेपाल प्रहरीमा उजुरी दर्ता गरी सो प्रचारलाई साइबर अपराधको विषय मानी अनुसन्धान अघि बढाउन माग गरेको पनि ज्ञापनपत्रमा जनाइएको छ।
तर, भ्रम फैलाउनेमाथि कारबाही गर्नुको सट्टा वाइसीएल नेपालका केन्द्रीय अध्यक्षसहित युवा–विद्यार्थीमाथि झूठा आरोप लगाई पक्राउने प्रयास हुनु निन्दनीय र अन्यायपूर्ण रहेको भन्दै ज्ञापनपत्रमा आपत्ति प्रकट गरिएको छ।
ज्ञापनपत्रमार्फत वाइसीएलले तीन बुँदे माग अघि सारेको छ १.झूठा र तथ्यहीन प्रचार गर्नेहरूमाथि निष्पक्ष छानबिन गरी तुरुन्त कानूनी कारबाही गरियोस्।२. संगठन र नेतृत्वमाथि राजनीतिक प्रतिशोधका आधारमा धम्की, तर्साउने र हेरेस गर्ने कार्य रोकियोस्। ३.अन्यायपूर्ण गतिविधि रोकिएन भने युवा–विद्यार्थी संगठनहरू संयुक्त आन्दोलन र प्रतिरोधका कार्यक्रममा उत्रिने चेतावनी।
वाइसीएलले अन्त्यमा भनेको छ — “सत्यलाई तोडमोड गरी भ्रम सिर्जना गर्ने कुनै पनि प्रयास सह्य हुनेछैन।”

डोल्पा न्यूज । २९ आश्विन २०८२, बुधबार १४:०७