विष्णुप्रसाद देवकोटा
डोल्पा ।ठुलीभेरी नगरपालिकाले आर्थिक वर्षको अन्त्यसँगै तीव्र गतिमा निर्माण कार्य र भुक्तानी प्रक्रिया सम्पन्न गर्न अब सार्वजनिक बिदाको दिन पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डिल प्रसाद रोकायाका अनुसार, असार २१ गते शनिबारको सार्वजनिक बिदामा समेत कार्यालय खुला राखिनेछ। शुक्रबार सार्वजनिक गरिएको सूचनामार्फत् पालिकाले उक्त दिन कार्यालय सञ्चालनमा रहने स्पष्ट जानकारी दिएको हो।
“पूर्वनिर्धारित लक्ष्यहरू समयमै प्राप्त गर्न र उपभोक्ता समितिहरू तथा निर्माण व्यवसायीहरूले आफ्नो बिल तथा भर्पाइ सहज रूपमा बुझाउन सकून् भन्ने उद्देश्यले यो निर्णय गरिएको हो,” रोकायाले बताए।
यस निर्णयअनुसार, सम्बन्धित सबै कर्मचारीहरू शनिबार अनिवार्य रूपमा कार्यालयमा उपस्थित हुनुपर्नेछ। साथै, कार्यालय सञ्चालनको जानकारी सरोकारवाला निकाय—उपभोक्ता समिति, निर्माण व्यवसायी र अन्य पक्षहरूलाई समेत प्रदान गरिएको छ।
ठुलीभेरी नगरपालिकाको यो कदम विकास र प्रशासनिक कार्यदक्षताका लागि उदाहरणीय बन्दै गएको छ।

डोल्पा न्यूज । २० असार २०८२, शुक्रबार २०:१८