डोल्पा — अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा डोल्पाबाट हालसम्म १ सय ५४ वटा उजुरी दर्ता भएका छन्। आयोगको सुर्खेतस्थित कार्यालयमा प्राप्त तथ्यांकअनुसार, तीमध्ये ७२ उजुरी फर्छ्यौट भइसकेका छन् भने बाँकी ८२ उजुरी अझै किनारा लाग्न बाँकी छन्।
अख्तियारका सूचना अधिकारी धर्मराज बुढाका अनुसार स्थानीय तहका अनियमिततासम्बन्धी उजुरी सबैभन्दा बढी छन्। त्यसपछि सहरी विकास मन्त्रालयबाट पठाइएका योजनाहरूमा देखिएको अनियमितता पनि उजुरीको ठूलो हिस्सा बनिरहेको छ।
स्थानीय तहको विश्लेषण गर्दा ठूलीभेरी नगरपालिकाबाट सबैभन्दा धेरै उजुरी परेका छन्। कुल ५८ उजुरीमध्ये ३० फर्छ्यौट भए पनि २८ अझै प्रक्रिया अन्तर्गत छन्। त्यस्तै, त्रिपुरा सुन्दरी नगरपालिकाबाट परेका २८ उजुरीमध्ये ८ वटा मात्र टुंगिएका छन्।
तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाबाट २६ उजुरी परेका छन्, जसमा १६ उजुरी फर्छ्यौट भइसकेका छन् भने १० उजुरी अझै प्रक्रियामा छन्।
काइके गाउँपालिकाबाट दर्ता भएका ८ वटा उजुरीमध्ये कुनै पनि उजुरी टुंगोमा पुगेको छैन।
उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिकाबाट परेका ३ वटै उजुरी फर्छ्यौट भइसकेका छन्। त्यसैगरी, छार्काताङ्सोङ गाउँपालिकाबाट ७ उजुरी परेका छन्, जसमा २ उजुरी मात्रै किनारा लागेका छन्। शे–फोक्सुण्डो गाउँपालिकाका ४ उजुरीमध्ये २ उजुरी टुंगिएको छ।
चालु आर्थिक वर्षमा विशेष गरी सहरी विकास मन्त्रालयमार्फत आएका योजनाहरूमा व्यापक उजुरी परेको आयोगले जनाएको छ। त्रिपुरा सुन्दरी नगरपालिकामा मन्त्रालयका नौ योजनामाथि सामूहिक उजुरी परेका छन् भने ठूलीभेरी नगरपालिकाका चार योजनाप्रति समेत उजुरी दर्ता भएका छन्।
सरोकारवालाहरूका अनुसार योजनाहरू कार्यकर्तामुखी तथा व्यक्तिगत लाभका लागि लक्षित भएकाले उजुरीको संख्या उच्च देखिएको हो।नियमितता हेर्ने आयाेगमा डाेल्पाका विकास याेजनामाथि प्रश्न चिन्ह खडा भएकाे छ ।

डोल्पा न्यूज । ७ जेष्ठ २०८२, बुधबार ०८:२०