ताजा समाचार

६ वर्षपछि सदरमुकामकाे आँखै अगाडि अवस्थित जिल्ला अस्पताल क्षेत्र सडक सञ्जालमा

विष्णुप्रसाद देवकोटा

डोल्पा । सदरमुकाम दुनैकाे आँखैको डिलबाट देखिने तर सयौं वर्षदेखि ‘पिठ्युँ’ र ‘स्ट्रेचर’कै भरमा पुग्नुपर्ने डोल्पा जिल्ला अस्पताल क्षेत्र अब बल्ल सडक सञ्जालमा जोडिएको छ। सपना जस्तै लागेको यो यथार्थले डोल्पाका जनताको आँखा रसाएको छ।

एकातिर नदि पारिपट्टिको अस्पताल, सरकारी कार्यालय, गुम्बा, विद्यालय, डोल्पो क्याम्पस, अपांग स्रोत कक्षाजस्ता जीवनका संवेदनशील संरचना— अर्कोतिर दुनै बजारको चहलपहल। बीचमा थियो, एक अडिग अवरोध – भेरी नदी। सवारीसाधन डिङगुरिँदै अस्पताल नजिकैबाट गुडिरहँदा पनि त्यही अस्पताल पुग्न बिरामीहरूले घण्टौं हिँड्नुपर्ने, काँधमा बोकिनुपर्ने बाध्यता थियो।

तर अब, त्यो बाध्यता इतिहास बन्ने बाटोमा छ। २०७८ सालमा सुरु भएको बहुप्रतिक्षित बेलिब्रिज (Bailey Bridge) अन्ततः २०८२ असार २२ गते सफलतापूर्वक जडान गरिएको छ। यससँगै, डोल्पा जिल्ला अस्पताल मात्र होइन, पशु सेवा कार्यालय, सशस्त्र प्रहरी गुल्म, हुलाक कार्यालय, कारागार, खाद्य व्यवस्था कम्पनी, डोल्पो क्याम्पस, अपांग स्रोत केन्द्र, गुम्बा, र अन्य सार्वजनिक संरचनाहरू आधिकारिक रूपमा सडक सञ्जालमा जोडिएका छन्।

आँसु पुछ्दै ताली बजाएका थिए स्थानीयले

पुलको सफल जडानको दिन, कालिका मन्दिर क्षेत्र रंगिएको थियो—खुसीको रङले। स्थानिय जनसमुदायले ताली र जयघोषका साथ पुल जडान कार्यको स्वागत गरे। उपस्थित थिए – जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकाया, ठुलीभेरी नगर प्रमुख सुवर्ण बुढा, प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, डिएसपी रुकबहादुर खड्का लगायत जिल्लाका विशिष्ट व्यक्तित्वहरू।

हावाहुरीका तीव्र झोक्काबीच समेत जुन समर्पणपूर्वक बेलिब्रिज जडान सम्पन्न भयो, त्यसका प्रमुख सूत्रधार थिए—पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख इन्जिनियर टेकबहादुर हितान। उनले भने — “यो केवल पुल होइन, सदरमुकाम र जनजीवन बीचको सम्बन्ध हो। फोक्सुण्डो ताल पुग्न चाहने पर्यटकदेखि अस्पताल पुग्न चाहने आमजनता सबैको जीवन अब सहज हुन्छ।”

दुई छेउबीचको दूरी अब मनको दूरी जस्तो छैन

यो पुलले भौगोलिक दूरी मात्र होइन, मनको दूरी पनि घटाएको छ। बेलिब्रिज सञ्चालनमा आएपछि—बिरामी स्ट्रेचर वा काँधमा बोकेर लैजानुपर्ने बाध्यता अन्त्य हुनेछ

सरकारी सेवा लिन वा दिन सहज हुनेछ

पर्यटकहरूका लागि फोक्सुण्डो जाने बाटो छोटिनेछ

शैक्षिक तथा सामाजिक संस्थामा पुग्नका लागि समय र लागत घट्नेछ

डेक प्लेट जडानपछि सञ्चालनमा

हाल पुलको बेसप्लेट सफलतापूर्वक जडान भइसकेको छ भने अब २–३ दिनभित्र डेक प्लेट जडानको कार्य पनि सकिनेछ। त्यसपछि यातायात सञ्चालनमा आउँने जानकारी पूर्वाधार विकास कार्यालयले दिएको छ।

डोल्पाको विकासको यात्रामा यो एक ऐतिहासिक मोड हो। अब दुनै बजारको रौनक नदि पारिको जीवनमा पनि प्रतिविम्बित हुनेछ। बेलिब्रिज बनेको यो खुसी, डोल्पाली जनताले कहिल्यै बिर्सने छैनन् ।

तपाईको प्रतिक्रिया