विष्णुप्रसाद देवकोटा
डोल्पा, भदौ १७ ।डोल्पाको दुई स्थानमा स्याउ बालीलाई लक्षित गर्दै प्राङ्गारिक कृषक पाठशाला सम्पन्न भएको छ।
कृषि विकास कार्यालय डोल्पाको आयोजनामा त्रिपुरासुन्दरी नगरपालिका–४ रंग र ठुलीभेरी नगरपालिका–१० परिला गाउँमा पाठशाला सञ्चालन गरिएको हो।
रंगमा भदौ १६ गते र परिलामा १७ गते सम्पन्न कार्यक्रममध्ये रंगमा २७ जना र परिलामा ३० जना कृषक सहभागी भएका थिए।
पाठशालामा दक्ष प्राविधिकद्वारा फिल्डमै व्यवहारिक तथा प्रयोगात्मक सीप प्रदान गरिएको  कृषि विकास कार्यालयका प्राविधिक  डिल्ली बाेहाेराले जानकारी दिए ।कृषकलाई आत्मनिर्भर र सीपसम्पन्न बनाउन पाठशाला सञ्चालन गरिएको आयोजकले जानकारी दिएको छ।
नायव प्राविधिक सहायक जगतराज रेग्मीले सहजीकरण गरेको उक्त कार्यक्रममा कृषकहरूले उत्पादन गरेका स्याउ तथा विभिन्न तरकारीको प्रदर्शनीसमेत गरिएको थियो।कार्यक्रममा कृषि विकास कार्यालयका प्रमुख शरद लामा प्राविधिक लगायत विभिन्न दलका वडास्तरका नेता तथा कार्यकर्ता र जनप्रतिनिधिहरुकाे सहभागिता रहेकाे थियाे ।

डोल्पा न्यूज । १७ भाद्र २०८२, मंगलवार २२:१७