जुम्ला पातारासी गाउँपालिका वडा नम्बर-१ स्यालागडी गाउँ निवासी विष्णुमाया ऐडिको मृत्यु भएको छ ।यार्सागुम्बा संकलन गर्न डाेल्पाकाे प्यारी गुफा पुगेकी ऐडिकाे लेकमा ढुङ्गा लागेर मृत्यु भएकाे हाे ।
यार्सा सङ्कलनका लागि गएकी ऐडिको डोल्पाको प्यारी गुफा लेकमा माथिबाट खसेको ढुङ्गा टाउकोमा लागेर मृत्यु भएको हो । घर खर्चको जोहो गर्न यार्सा सङ्कलन गर्न विष्णुमाया डोल्पाको पाटनमा पुगेकी थिइन् ।
वैशाख २७ गतेका दिन डोल्पाको प्यारी गुफा लेक नजिक अचानक माथिबाट खसेको ढुङ्गा टाउकोमा लागेपछि विष्णुमायाको मृत्यु भएको पातारासीका स्थानीय श्रीराम थापाले जानकारी दिए ।
विष्णुमायाको मृत्युसङै दुई छोरा छोरी आमा विहीन बनेका छन् । मृतक ऐडिका अन्दाजी ८ वर्षका छोरा र १० वर्षकी छोरी बिचल्लीमा परेको वडाध्यक्ष लालसिंह ऐडिले बताए ।
वडाध्यक्ष ऐडिका अनुसार शव जुम्ला ल्याउन सम्भव नभएकोले पाठनमै गाडेर अन्तिम संस्कार गरिएको छ । यसैबीच यार्सा सङ्कलन गर्न गएका जुम्ला पातारासीकै चार जना युवा डोल्पाका विभिन्न पाटनमा अलपत्र परेका छन् ।
पातारासी गाउँपालिका ३ का चार जना युवाहरू डोल्पाको साल्दाङ फोतगाउँ पासुक क्याम्पमा अलपत्र परेको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताए ।
उनका अनुसार अलपत्र पर्नेमा पातारासी ३ मोहरी गाउँका ओमप्रकाश बुढा र जय बुढा, चौर गाउँका हिरालाल रावत र चन्नलाल रावत रहेका छन् ।
चार जनामध्ये ओमप्रकाश बुढा लेक लागेर बिरामी परेका छन् । अलपत्र परेका चारै जना युवाको उद्धारका लागि सबै निकायसँग अपिल गरिएको अध्यक्ष बोहोराले बताए ।
जुम्लाबाट संघ प्रदेशमा प्रतिनिधित्व गर्ने सांसददेखि गृह मन्त्रालयमा समेत उद्धारमा सहयोग गर्न माग गरिएको छ ।याे वर्ष अहिले सम्म यार्सागुम्बा संकलनकाे लागि डाेल्पाका पाटनमा पुगेर ज्यान गुमाउनेकाे संख्या तीन पुगेकाे छ ।