ताजा समाचार

रिवा बाढीपीडितका लागि काईके–६ बन्ठाडाबाट रु ५१ हजार सहयोग

 

विष्णुप्रसाद देवकोटा

डोल्पा । डोल्पाको काईके गाउँपालिका–४, रिवा गाउँमा गएको बाढी तथा पहिरो पीडितका लागि छिमेकी वडा काईके–६, बन्ठाडाबाट रु ५१ हजार रुपैयाँ राहत सहयोग संकलन गरिएको छ।

वडा नं. ६ का अध्यक्ष नरेन्द्र रोकायाले सिंगो वडाबासीको तर्फबाट रु ५१,००० (अक्षरेपी एकाउन्न हजार रुपैयाँ) राहत कोषमा हस्तान्तरण गरेका हुन्। प्राकृतिक विपत्तिको बेला छिमेकी वडामा सहयोग गर्नु मानवीय धर्म भएको भन्दै अध्यक्ष रोकायाले सक्दो सहयोग गर्न सबैमा आग्रह गरेका छन्।

असार १२ गते राति करिब १२ बजेतिरको अविरल वर्षाले रिवा गाउँमा ठूलो क्षति पुर्‍याएको थियो। बाढीका कारण तीनवटा घर र एउटा विद्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। मानवीय क्षति नभए पनि घरहरु बस्न अयोग्य बनेका छन्।

सिंगो रिवा बस्ती नै उच्च जोखिममा रहेकाले काईके गाउँपालिकाले “गाँस, वास र कपास” सुनिश्चित गर्न राहत संकलन अभियान सञ्चालन गरिरहेको छ। स्थानीय तह, सामाजिक संघसंस्था र दाताहरूको सहकार्यमा बाढीपीडितको पुनःस्थापनाका लागि पहल भइरहेको गाउँपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया