ताजा समाचार

गाउँमै राष्ट्रिय परिचयपत्र, सर्वसाधारणलाई राहत

डोल्पा,चैत २६ गते ।गाउँमै राष्ट्रिय परिचयपत्र वितरण गरिन थालेपछि सर्बसाधारणमा राहत पुगेको छ ।

डोल्पाको दुर्गम गाउँपालिका जगदुल्लाको प्रशासकीय भवनबाटै राष्ट्रिय परिचयपत्र वितरण गरिन थालेपछि सबैभन्दा बढि बृद्दबृद्दा र अशक्त नागरिकलाई राहत भएको हो ।

मंगलवारदेखि डोल्पाको जगदुल्ला गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण थालिएको हो ।जिल्ला प्रशासनको विशेष अनुरोधमा राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागले नागरिकको सहजताको लागि पालिकाबाटै स्रवाप्रवाहको ब्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताउनु भयो ।

प्रजिअ महतका अनुसार नेपाल सरकारले गत साउनदेखि सामाजिक सुरक्षाभत्ता बैङ्क खाता खोल्न उपभोक्ता समिति बन्न र अन्य विभिन्न सेवा प्राप्तीको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि पालिकाको आर्थिक सहयोगमा पालिकास्तरमै पुगेर यो सेवा दिन थालिएको हो ।जगदुल्ला गाउँपालिकामा पहिलो दिनमै चौत्तिस जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरेका छन ।

जिल्ला प्रशासन कार्यालयका कम्प्युटर अपरेटर सन्तोष बोहोराले प्रत्येक वडालाई पाँच दिनको अवधी दिएर सेवा प्रदान गरिने र पहिलो दिनममा २० पुरुष चौध महिला गरेर चौत्तिस जनाले परिचयपत्र लिएको जानकारी दिनु भयो ।

सदरमुकाम दुनै देखि झण्डै पैतालिस किलोमिटरको दुरीमा रहेको जगदुल्ला गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण र दर्ताको लागि चाहिने ईन्ट्रानेट र चाहिने उपकरणका साथै प्राविधिक खर्च गाउँपालिकाले ब्यवस्थापन गरेर सेवाप्रवाह गरिरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र ऐडीले बताउनु भयो ।

अनिवार्य गरिएको यो परिचयपत्र प्राप्तीमा नागरिकको लागि महंगो र झनझटिनो भएकाले सहजरुपले घरआगनमै सेवा प्राप्त गर्न सकुन भनेर गाउँपालिका केन्द्रबाटै राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरणको ब्यवस्था मिलाइएको पालिका अध्यक्ष नारासिं रोकायाले बताउनु भयो ।

प्रशासनको विशेष पहलमा र गाउपालिकाको आर्थिक ब्यवस्थापनमा जिल्लामै पहिलोपटक मुड्केचुलागाउँपालिकाका नागरिकले यो सेवा प्राप्त गरेका थिए ।

नौ वडा रहेको मुड्केचुला गाउँपालिकामा अहिले पनि यो सेवा नियमितरुपमा जारि छ ।छ वडा मात्र रहेको जगदुल्लागाउँपालिकामा मंगलवारबाट यो सेवा शुरु भएको र यसपछि काइके गाउँपालिकाको केन्द्रवाट राष्ट्रिय परिचयपत्र वितरण गर्ने गरि तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया